काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । उनले भने, ‘हाम्रा विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो थला परेको छ । यो बिग्रनुमा सबैभन्दा ठुलो दोष हामीले नै लिनुपर्छ । हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ ।’
‘हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा हाम्रो सरकार मिलीजुली बन्छ, हाम्रो सरकार मिलीजुली भएको हुनाले हामी विश्वविद्यालयको नेतृत्व पनि मिलीजुली बनाउनतर्फ लाग्यौँ । हामीले यति धेरै भागबण्डा गर्यौं की हामीले आजभोलि सहायक क्याम्पस चिफ समेत भागबण्डा गर्छौं । अब कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ । उपकुलपति, शिक्षाध्यक्ष अहिले विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हो, राजनीतिक दलको भागमा पर्दैपर्दै जाँदै गर्दा विश्वविद्यालयलाई हामीले झनै तल लिएर गयौं । सेवा आयोगले लिएका परीक्षाका सन्दर्भमा समेत प्रश्न उठेका छन्,’ महामन्त्री थापाले भने ।