काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् ।
सोमबार कोइरालाको एकसयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले यस्तो बताएका हुन् ।
‘गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’, दाहालको भनाइ छ ।
दाहालले कोइरालाको राजनीतिक सुझबुझ र दुदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए । उनले पहिलो पटकको भेटेदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विविधा, अविश्वास, शङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए ।
‘बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन’, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै दाहालले भने, ‘मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहनाविपरीत कतिपय निणर्य गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि बताए ।
‘अस्पतालमा जतिबेला उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो मलाई एक्लै बोलाएर देश सम्हाल्नुस् भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ’, दाहालले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’
उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए ।
‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ,’ दाहालले भने, ‘हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौं, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’
प्रधानमन्त्रीले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा सोही दृष्टिका आधारमा काम गर्नुपर्ने बताए ।