• फाल्गुन २६ २०८२, मंगलवार

फ्रान्समा प्रहरीबाट मारिएका किशोरको अन्त्येष्टिमा हजारौँ सहभागी

असार १७ २०८०, आईतवार

फ्रान्स । फ्रान्सको नान्तेरेमा प्रहरीको गोलीबाट मारिएका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

नाहेलको अन्त्येष्टिमा हजारौँको संख्यामा युवाहरूको सहभागिता रहेको थियो । सहभागीले आँसुका आँखाले उनको अन्तिम बिदाइ गरे । 

मिडिया रिपोर्टका अनुसार सयौँ मानिसहरूले अन्त्येष्टि अवधिमा ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । 

नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दंगा भइरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपरमार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाएका छन् । साथै सयौं सवारी साधनमा आगजनी गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दंगामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।