काठमाडौँ। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा क्षेत्रबाट लागुऔषध (ब्राउन सुगर) सहित एक भारतीय युवक पक्राउ परेका छन् ।
लागुऔषधका कारोबार हुने गरेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा भारत बहराईच जिल्ला थाना मोतिपुर अच्कवा बस्ने वर्ष २५ को मनोज कुमारलाई पक्राउ गरेको हो।
फुटाहा स्थित कच्ची सडकमा शंकास्पद तरिकाले पैदल आईरहेको अवस्थामा फेला पारी खानतलासी लिने क्रममा उनले लगाएको हाफ पाईन्टको खल्तिबाट प्लाष्टिकमा पोका बनाई राखेको ९८ ग्राम २८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी हिक्मत बोहराले बताए ।
प्रहरिले पक्राउ गरेको लागुऔषध अहिलेसम्मकै ठूलो परिमाणको भएको बुझिएको छ ।बर्दिया भारतसँग खुला सिमाना भएको जिल्ला हो । खुला सिमानाका कारण पछिल्लो समय प्रहरीको सक्रियता बढेसंगै धमाधम लागू औषध कारोबारीहरु पक्राउ पर्न थालेका हुन् ।