• जेष्ठ २६ २०८२, आईतवार

मिनबहादुर गुरुङ सहित बालुवाटार जग्गा काण्डका ३ जना अस्पताल भर्ना

असार १५ २०८०, शुक्रबार

काठमाडौं । बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार तीनै जनालाई हिजो नै (बिहिबार) अस्पताल भर्ना गरिएको हो ।
‘स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो,ʼ उनले भने, ‘एक जनाको स्वास्थ्य अवस्थामा सुधार आए पनि दुई जनालाई मेडिकल केयर आवश्यक देखिन्छ ।ʼ

उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला-बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए ।

तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र हिरासतमा छन् । ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले अदालतबाट स्टे-अर्डर लिएका थिए । त्यसैले उनीहरू सोही दिन छुटेका हुन् ।