एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका अट्याकिङ मिडफिल्डर मेसन माउन्ट म्यानचेस्टर युनाइटेड जाने भएका छन्। इंग्ल्याण्डका मिडफिल्डर माउन्टलाई भित्र्याउनेबारे सहमति भइसकेको बीबीसीले उल्लेख गरेको छ।
माउन्टलाई युनाइटेडले ५५ मिलियन पाउण्डमा खरिद गरेको हो। त्यसमा ५ मिलियन पाउण्डसम्म ‘एडअन’ हुनसक्ने बताइएको छ। माउन्टसँग युनायटेडले ५ वर्षको सम्झौता गरेको छ।
यो समर ट्रान्सफर विन्डोमा युनाइटेडका प्रशिक्षक इरिक टेन ह्यागले आफ्नो क्लबमा भित्र्याएका पहिलो खेलाडी हुन् २४ वर्षीय माउन्ट। आउँदो सिजनको च्याम्पियन्स लिगको लागि लक्षित गर्दै ह्यागले खेलाडी अनुबन्धनलाई प्राथमिकता राख्दै माउन्टलाई क्लबमा भित्र्याएका छन्।
चेल्सीले गत सिजन ६ सय मिलियन पाउण्डमा खर्च गरेको थियो। फाइनान्सियल फेयर प्लेका कारण केही खेलाडी जनु ३० भन्दा अघि बेच्नुपर्ने बाध्यता चेल्सीलाई थियो। चेल्सीले युनाइटेडका पहिला ३ प्रस्तावहरु अस्वीकार गरेको थियो। तर दुई क्लबबीच सहमति भएपछि माउन्ट यनाइटेड जाने बाटो खुलेको हो।
प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै युनाइटेडले सिजन सक्काएको छ। आउँदो सिजन थप सशक्त प्रदर्शन गर्ने उदेश्यसहित ह्यागले अट्याकिङ मिडफिल्डर माउन्टलाई भित्र्याएका हुन्।
माउन्टले २०२१ मा चेल्सीमै रहँदा च्याम्पियन्स लिगको उपाधि जितेका थिए। त्यतिबेला फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सीले ट्रफी उचालेको थियो। त्यसैगरी माउन्टले फिफा वर्ल्डकप र युईएफए सुपर कप पनि जितेका छन्। उनले इंग्ल्याण्डका लागि ३६ क्याप खेल्दै ५ गोल गरेका छन्।