• मंसिर १२ २०८१, बुधबार

नेपालले मलेसियालाई ८४ रनले हरायो

असार १५ २०८०, शुक्रबार

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । समूहगत चरणको दुबै खेलमा पराजित भएको थाइल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पहिलो ब्याटिङ राजेको नेपालका माथिल्लो क्रममा ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसक्दा विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सकेन । नेपालका लागि नवौं नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।