काठमाडौँ । काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको स्काइवाक आजदेखि सञ्चालनमा आउने भएको छ ।
टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घण्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ ।
कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिए । “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलो पटक निर्माण गरिएको हो”, उनले भने ।
टावरबाट उपत्यका सहर हेर्ने मात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ ।
हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । टावरदेखि १८औँ तलासम्म जानका लागि दुई वटा लिफ्टको व्यवस्था गरिएको छ ।
सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिए ।
स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ । तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।