बुटवल । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।
बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए । उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लिखित उजुरी दिएपछि रूपन्देही प्रहरीले खोजी गर्न थालेको थियो । खोजी गर्दै जाँदा मंगलबार भैरहवाबाट उनलाई पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनीविरूद्ध बचतकर्ताहरूले प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् । डिएसपी अर्यालका अनुसार उनीविरूद्ध ५० जना भन्दा बढीले उजुरी दिएका छन् । त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि देशका विभिन्न ४३ वटा जिल्लाहरूमा सेवा केन्द्रमार्फत् बचतकर्ताहरूबाट रकम संकलन गर्दै आएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
लामो समय भारतको मुम्बईबाट एक जना भारतीयको घरमा लुकेर बसेका शर्मा नेपाल आएको बेला सोमबार नेपालगञ्ज-१५ बाट पक्राउ गरेको थियो । देशभरका सेवा केन्द्र मार्फत बचतकर्ताहरूबाट संकलन गरिएको १२ अर्ब बढी रकम हिनामिना गरी शर्मा सम्पर्कबिहीन भएका थिए ।