• मंसिर १३ २०८१, बिहीबार

अत्यधिक गर्मीका कारण अमेरिकामा १७ को मृत्यु

असार १४ २०८०, बिहीबार

वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा. कोरिन स्टर्नले बुधबार जनाए अनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।

‘यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,’ स्टर्नले भने, ‘तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषा अनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो ।’

यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट (४८ डिग्री सेल्सियस) पुगेको थियो ।

यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुईजना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ ।