• मंसिर १४ २०८१, शुक्रबार

नलगाडकी सुत्केरी भैँसीले पाइन एक हजार भत्ता

असार १४ २०८०, बिहीबार

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।

दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो ।

वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन् ।

भत्ता पाएपछि किसान खुसी भएका छन् । ‘बर्सेनि भैँसीपालक किसानलाई नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ । साथै नगरपालिकाले भैँसी बिक्री वितरणमा रोक समेत लगाएको छ’, वडाध्यक्ष वीरेन्द्र खड्काले भने ।