• मंसिर १७ २०८१, सोमबार

अमेरिकी नेता र सरकारी अधिकारीका पुर्खाले काला मानिसलाई दास बनाएर राखेको खुलासा

असार १४ २०८०, बिहीबार

काठमाडौं । लोकतन्त्रको ठेकेदार हुँ भन्ने अमेरिकाको इतिहास अचम्मको छ । अरुलाई स्वतन्त्रताको पाठ सिकाउने अमेरिकी शासकहरु आफूले भने मानिसलाई दास बनाएर राखेको इतिहास सबैका सामू छ ।

भर्खरै मात्र पनि उनीहरुको यस्तै एउटा इतिहास उजागर भएको छ । समाचार एजेन्सी रोयटर्सको एक विशेष खोजले सांसद, राष्ट्रपति, गभर्नर र न्यायाधीश गरी १०० भन्दा बढी अमेरिकी राजनीतिक नेताहरूका पुर्खाले कालो वणर्का मानिसलाई दास बनाएर राखेको देखाएपछि अमेरिकाको अर्को इतिहास उजागार भएको हो ।

मानवीय उत्पीडनको एक क्रूर प्रणाली दासत्वले अमेरिकी इतिहासमा सबैभन्दा घातक द्वन्द्व सिर्जना गरेको थियो । अमेरिकी संसद भवन दासत्वमा परेका काला मानिसले बनाएको थियो भन्ने सम्झाउनका लागि भवनको भिजिटर केन्द्रमा एउटा ब्लक राखिएको छ ।

सन् १७७६ देखि सन् १८६५ सम्म अमेरिकामा अफ्रिकी र अफ्रिकी मूलका अमेरिकी काला मानिसलाई दास राख्ने प्रथा थियो । अमेरिकामा युरोपेली उपनिवेशले दासत्वलाई झनै क्रूर बनाएको बताइन्छ ।

अमेरिकी राजनीतिक अभिजात वर्ग वंशावलीको अनुसन्धानमा रोयटर्सले पाँचमध्येका एक सांसद, जीवित राष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीश र गभर्नर काला मानिसलाई दास बनाउने पुर्खाका प्रत्यक्ष वंशज भएको फेला पारेको हो ।

अमेरिकी कांग्रेसका ५३६ सदस्यमध्ये, कम्तीमा १०० जनाका का पुर्खाले दास राखेका थिए । यसमा परेका १०० सिनेटमध्ये २८ का पुर्खाले कम्तीमा एक दास राखेका थिए ।

यस्तै, वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबाहेकका अन्य जीवित पूर्वराष्ट्रपतिका पुर्खाले पनि दास राखेका थिए । जिमी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामाको समेत उनकी सेतो वणर्की आमाको पुर्खाले दास राखेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पका पुर्खा भने दासप्रथा समाप्त भएपछि अमेरिका आएको बताइएको छ । अमेरिकी सर्वोच्च अदालतका नौ जना न्यायाधीशमध्ये दुई एमी कोनी ब्यारेट र नील गोर्सचका पुर्खाले पनि काला मानिसलाई दास बनाएका थिए । यस्तै, सन् २०२२ मा ५० अमेरिकी राज्यका गर्भनरमध्ये ११ का पुर्खाले पनि दास राखेका थिए ।

अमेरिकी गृहयुद्ध सुरु भएको दक्षिण क्यारोलिनामा राजनीतिक अभिजात वर्ग र दासत्वको सम्बन्ध झनै देखिन्छ । दक्षिण क्यारोलिनाबाट गत अमेरिकी कांग्रेसका सदस्य रहेका सिनेटर टिम स्कट र प्रतिनिधिसभा सदस्य जेम्स क्लाइबर्नका पुर्खा दास बनाइएका थिए । रोयटर्सबाट ।