डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । यसका कारण १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दीमा पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भव जस्तै भएकाले भाइरस नियन्त्रण गर्न औषधीको खोजी तथा अध्ययन भइरहेको छ ।
डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले ससाना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानीजस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ ।
सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइसल सङ्क्रमण हो ।
यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ ।
औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए तापनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेङ्गु रोग क्लासिक डेङ्गु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् ।
डेङगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शितोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन्छन् ।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सातदिन लाग्छ ।
केही बिरामीहरूमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो डेङ्गु सक सिन्ड्रोम पनि हो ।
यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेहरूको माध्यमबाट मानिसहरूमा सर्न सक्दछ । यो रोगका भाइरसहरू चार प्रकारका छन् । यीमध्ये कुनै एकको सङ्क्रमण भएमा हाम्रो शरीरले जीवन भरिका लागि त्यस प्रजातिको भाइरसविरूद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ ।
तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरूद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् ।
यस्ता परिक्षणहरूमा विरामीको रगतमा डेङ्गुको भाइरसविरूद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आर एन ए पत्ता लगाउने गरिन्छ । केही देशहरूमा डेङ्गुको सङ्क्रमणबाट बचाउनका लागि एउटा खोपलाई मान्यता दिइएको छ ।
तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङगीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ ।
भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ ।
यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेला माइबुप्रोफिनजस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधी प्रयोग गर्नु हुँदैन ।
लक्षण तथा चिन्ह :
सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिशत मानिसहरूमा रोगको कुनै लक्षण देखिदैनन् । देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छ ।
सङ्क्रमितमध्ये ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ ।
त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रूघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।
त्यस्तै बालबालिकामा विभिन्न जटिलताहरू देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरूआतमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ ।
डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथाजोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ ः लक्षण सुरू हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरी । लक्षण सुरू हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्चज्वरो आउने शरीरमा पीडा महसुश हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् ।
यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्दछ । डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरू भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ ।
पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरू देखापर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन अ सी आफ रेड (रातो समुन्द्रमागोराहरूको टापु) भन्ने गरिन्छ ।
यो अवस्थामा शरीरमाहुने कोशीका फुटेर छालामा ससाना थोप्लाहरू देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् । डेङ्गुको ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न दिनु हुँदैन । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने गर्नुपर्छ ।
कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालीदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने गर्नुपर्छ । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ ।
सम्भव भए सम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ । साथै, साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ ।
घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ ।
डेङ्गु ज्वरोविरूद्ध खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुनसक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।