• जेष्ठ २६ २०८२, आईतवार

उत्तरी डोल्पाको २ गुम्बामा हतियारधारी समूहद्वारा लुटपाट, पुजारीमाथि कुटपिट

असार १२ २०८०, मंगलवार

विरेन्द्रनगर । हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा हतियारधारी समूहले गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू गाउँपालिकाको वडा नं.-४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे-चखाङ गुम्बामा रातको समयमा प्रवेश गरी लुटपाट मच्चाएका हुन् ।

अन्य ठुला गुम्बाहरूमा पनि उनीहरूले लुटपाट मच्चाउने र पुरातात्विक सामाग्रीहरू कब्जा गर्ने आशङ्का स्थानीयले गरेका छन् । साथै गाउँमा बन्दुकधारी समूह प्रवेश गरेपछि स्थानीयबासीमा त्रास पैदा भएको छ ।

घटना असार ८ र ९ गतेको हो । तर, सञ्चारको कमी र भौगोलिक समस्याका कारण सोमबार मात्र बाहिर आएको हो । डोल्पाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले घटनाबारे संसदमा जानकारी गराएपछि मात्रै घटनाप्रति सबैको ध्यान गएको छ ।

सो गाउँपालिकाका अध्यक्ष धावासम्डुक गुरुङका अनुसार जेठ ८ गते राती ११ बजे देछेन लाब्राङ गुम्बामा उनीहरूले लुटपाट मच्चाएका हुन् । स्थानीयको भनाइ उदृत गर्दै उनले भने,‘ पहिलो दिन ६-७ जनाको समूह थियो भने दोस्रो दिन अर्थात् ९ गते राती १० बजे १६-१७ जनाको समूहले शे-चखाङ गुम्बामा लुटपाट मच्चाएका थिए ।’

उनका अनुसार दुईवटा गुम्बामध्ये शे-चखाङ गुम्बा सार्वजनिक गुम्बा हो भने देछेन लाब्राङ गुम्बा व्यक्तिगत गुम्बा हो । समूहमा रहेका सबै जनासँग बन्दुक लगायत हातहतियारहरू रहेको बताइएको छ । मान्छेहरू अपरिचित तर नेपाली नै रहेको स्थानीयले जानकारी गराएको अध्यक्ष गुरुङले जानकारी गराए ।

‘हुन चाहिँ नेपाली नै हुन् तर, कहाँका हुन् किन गुम्बामा प्रवेश गरे यकिन हुनसकेन,’ उनले भने । उनका अनुसार दुईवटै गुम्बाबाट विभिन्न मूर्तिहरू उनीहरूले लगेका छन् । पूजाका सामानदेखि गुम्बामा भएका सबै गरगहनाहरू उनीहरूले लुटेर लगेका छन् भने नगद रकमहरू पनि लगेका छन् ।

देछेन लाब्राङ गुम्बाका पुजारी लाडुङ लामा र शे-चखाङ गुम्बाका पुजारी पेमा पुडिन लामालाई उनीहरूले हतियार देखाउँदै धम्क्याउनेदेखि पिटेर घाइते समेत बनाएको अध्यक्ष गुरुङले बताए । उनीहरूले पुजारीलाई बाँधेर समेत पिटेका थिए । घाइते पुजारीको गाउँमै परम्परागत तरिकाले उपचार भइरहेको छ ।

घटनाको अझै मुचुल्का उठेको छैन । लुटिएका सामानहरू कति मूल्यका हुन् ? कस्ता हुन् ? सबैको विवरण यकिन हुन भने सकिरहेको छैन । गाउँमा त्रास बढेपछि पालिकामा रहेका केही प्रहरीलाई गाउँमा खटाइएको छ । घटना घटेको स्थान जिल्ला सदरमुकाम दुनैबाट उत्तरतर्फ ७० कोश टाढा पर्छ । राताेपाटीमा पंखबहादुर शाहीले विस्तृतमा समाचार खेलेका छन् ।