• जेष्ठ २६ २०८२, आईतवार

वर्षाका कारण प्रमुख नदीहरुमा जल सतह बढ्न सक्ने, केही ठाउँमा बाढीको जोखिम

असार १२ २०८०, मंगलवार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । मंगलबार बिहानदेखि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनी वर्षाका कारण देशभरका प्रमुख नदीहरुमा जलसतह सामान्य बढ्ने देखिएको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि केही ठाउँका मुख्य तथा सहायक नदीहरुमा भने आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ र आसपास भएर बहने केही स–सना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

यस्तै, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङ्जा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा र दार्चुला आसपास भएर बहने स–सना नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना छ ।