• असार २० २०८१, बुधबार

पेशागत नैतिकता

असार १२ २०८०, मंगलवार

व्यक्ति वा सङ्गठनको निर्धारित उद्देश्य प्राप्त गर्न गरिने प्रयत्न अनुशासित, मर्यादित र कानून सम्मत हुनु वा बनाउनुलाई पेशागत नैतिकता भनिन्छ । पेशागत नैतिकता पेशा र नैतिकताको योग हो । नैतिकताको निर्माण चरणबद्धरूपमा हुने गर्दछ ।

व्यक्तिको परिवार, छिमेकी, नातेदार तथा कार्यसङ्गठनसँग आफ्नै स्थापित नैतिक दृष्टिकोण हुन्छ, आफ्नै मूल्य हुन्छ । नैतिकताको पहिलो शिक्षा घर, परिवार र समुदायबाट प्राप्त हुन्छ । व्यक्तिगत नैतिकताको निर्माण घरपरिवार, साथी संगत, अनुभव, परंपरा, संविधान र ऐनकानून तथा सङ्गठनको मूल्य मान्यताबाट भएको हुन्छ ।

सङ्गठनात्मक नैतिकता नियम कानून, आचारसंहिता, नेतृत्वले गरेको सत्प्रयास, चलिआएका मूल्यहरू तथा समाजबाट सिकेको ज्ञानले निर्माण गर्दछ । व्यक्तिगत नैतिकता व्यक्तिको व्यवहारका लागि र पेशागत नैतिकता व्यक्तिको सङ्गठनात्मक व्यवहारका लागि जिम्मेवार हुन्छ ।

हरेक सङ्गठनको आफ्नो नैतिक आचरणसंहिता हुन्छ । जसले सङ्गठनको निर्णय निर्माण, क्रियाकलाप र व्यवहारलाई मार्गदर्शन गर्दछ । नैतिकता कार्यसम्पादन व्यवहारका मार्गदर्शन वा नैतिक सिद्धान्तहरू हुन्, सङ्गठनको लागि र सङ्गठन बनाउने प्रत्येक व्यक्तिका लागि, जुन देशको कानूनसँग बाझिएको हुँदैन ।

नैतिकता सङ्गठनको मूल्य मान्यता र संस्कृतिसँग मिल्दोजुल्दो हुन्छ । नैतिकता भनेको वास्तवमा नियम र प्रक्रियाको सङ्गालो हो, जुन सङ्गठन र सामजले बनाएको र अपनाएको हुन्छ ।

मार्टिन लुथर किंग अनुसार नैतिक दर्शन नैतिकताको दर्शन हो । नैतिकता सद्विचारको जननी हो । नैतिकता व्यक्ति व्यक्तिबीच फरक फरक हुन्छ । नैतिकता निरपेक्ष नभएर सापेक्ष हुन्छ ।

नैतिकता समाजले स्वीकार गरेको मान्यताबाट विकसित भएको हुन्छ । खासमा, नैतिक दर्शनले के सही हो, के न्यायपूर्ण हो, के स्वच्छ हो भन्ने विषयसँग सरोकार राख्दछ ।

कार्यक्षेत्र नैतिकताले कार्यक्षेत्रमा व्यक्तिको भावना, कर्म र व्यवहारलाई मार्गदर्शन गर्दछ । कार्यक्ष्ोत्र नैतिकतालाई पेशागत नैतिकता र व्यवसायिक नैतिकता पनि भन्ने गरिन्छ । पेशागत नैतिकता सङ्गठनको नियम, कार्यप्रक्रिया र कर्मचारीको व्यवहार हो, जसले सङ्गठनको पेशागत संस्कृतिलाई उजागर गर्दछ ।

पेशागत नैतिकताले बदलिदो वातावरणमा व्यक्तिले अरू व्यक्ति वा सङ्गठनसँग गर्ने व्यवहारलाई मार्गदर्शन गर्न विधि प्रदान गर्दछ । इमान्दारिता, पारदर्शिता, विधिअनुकुल आचरण, आज्ञाकारिता, सम्मानभाव, परिणाममूखी कार्य, पेशागत दक्षता र पेशागत व्यवहारलाई पेशागत नैतिकताका उदाहरण हुन् ।

खासमा, कार्यक्षेत्र नैतिकतामा कर्मचारीले मनमा कस्तो भावना राख्छ, सेवाग्राहीसँग कस्तो व्यवहार गर्छ, हाकिमसँग कसरी बोल्छ, सहकर्मीसँग कसरी व्यवहार गर्छ, र कसरी ड्रेस लगाउँछ, जस्ता पक्षहरू समावेश हुन्छन् ।

पेशागत नैतिकताले व्यक्तिमा आत्मिक गुण र उच्च आत्मविश्वस पैदा गरेको हुन्छ । नैतिकताले सङ्गठन र सङ्गठनका सहकर्मी र सेवाग्राहीसँग बलियो सम्बन्ध स्थापित गरेको हुन्छ ।

नैतिक व्यवहारले सङ्गठनको उद्देश्य हासिल गर्न विधि विधानअनुकुल निष्ठा र इमान्दारी साथ कार्यसम्पादन गर्ने सुनिश्चितता गर्दछ । पेशागत कार्यक्षेत्रमा के ठिक के बेठिक भन्ने विषय मूलतः व्यक्तिगत हो । नैतिक व्यवहार हेर्ने, देख्ने र बेर्होर्नेले मूल्याङ्कन गर्ने विषय हो ।

कुनै व्यक्तिको नजरमा ठिक लागेको अर्थात नैतिक लागेको विषय अर्को व्यक्तिको नजरमा बेठिक वा अनैतिक हुन सक्छ । त्यस्तै एउटा समाजको लागि नैतिक भएको विषय अर्को समाजको लागि अनैतिक पनि हुन सक्छ । यसकारण नैतिक व्यवहार रिलेटिभ अर्थात तुलनात्मक हुन्छ ।

सङ्गठनको समयको दुरूपयोग, कार्यक्षेत्रमा देखाउने अभद्र व्यवहार, कार्यलयबाट सामानहरू चोर्नु वा कार्यालयको सुविधा व्यक्तिगत लाभका लागि प्रयोग गर्नु, झुठ बोल्नु वा झुठा व्यवहार गर्नु, सङ्गठनको इन्टरनेट नीतिको अवज्ञा गर्नु, सेवाग्राहीबीच भेदभाव गर्ने, खतरनाक काम गर्ने कर्मचारीहरूका लागि सुपरिवेक्षकले सुरक्षा उपाय नलिनु अनैतिक कार्य हुन् ।

आफ्नो कार्यक्षेत्र वा जिम्मेवारीमा नपरेको कार्य गर्नु वा निर्णय लिनु, सङ्गठनको नेतृत्व तथा सहकर्मीविरूद्ध अनर्गल हल्ला चलाउनु, सुपरिवेक्षकलाई सही सूचना प्रवाह नगर्नु, अनैतिक कार्यलाई ढाकछोप गर्ने प्रयत्न गर्नु तथा कार्यालयको कम्प्युटर वा नेटवर्कको प्रयोग व्यक्तिगत फाइदाका लागि गर्नु वा सूचना तोडमरोड गर्नु अनैतिक व्यवहारका केही प्रतिनिधि उदाहरणहरू हुन् ।

व्यक्ति स्वार्थन्ध छ भने ऊ आफ्ना नैतिकता प्रतिकूल काम र क्रियाकलायहरूलाई नैतिक तर्कहरू गरेर सही बनाउन खोज्छ । नैतिक सङ्कट वा नैतिक द्विविधाका अवस्थामा व्यक्ति नैतिक रिजनिङको सन्र्दभमा नैतिक सिद्धान्त र प्रचलित व्यवहारको आड लिन खोज्दछ ।

सामान्यतया, व्यक्ति आफ्नो अनैतिक वा गैरकानूनी कार्यलाई तर्कपूर्ण वा न्यायिक बनाउन प्रायः चारवटा कुरा जस्तै मैले गरेको काम गैरकानूनी छैन, मैले गरेको काम सबैको असल चाहनाकै हो, मैले जे गरेको छु कसैले कहिल्यै थाहा पाउँदैन र सङ्गठनले मेरो कामको प्रतिरक्षा गर्नेछ भन्ने तर्कहरू अगाडि सार्ने गर्दछ ।

यसप्रकार तर्कवितर्क गर्दै अनैतिक कार्यको बचाउ गर्ने प्रवृत्ति समाजमा, सङ्गठनमा र घरमा पाइने र त्यसैले अनैतिक कार्य गर्न उक्साउने गरेको पाइन्छ । मूल्य र नैतिक व्यवहारबीचको अन्तरसम्बन्ध रहेको हुन्छ ।

मूूल्य भनेको कर्म, परम्परा, प्रणाली र व्यवहार हुन्, जुन व्यक्तिले बोकेको हुन्छ । हरेक सङ्गठनको आफनै मूल्य र नैतिकताको स्टयाण्डर्ड हुन्छ । व्यक्तिपिच्छे फरक फरक मूल्य र इथिक्स हुन्छन् । व्यक्तिको नैतिकता सङ्गठनमा उस्ले पाएको जिम्मेवारीसँग बढी घनिष्ट हुन्छ ।

सङ्गठनको नेतिकता सङ्गठनको नियम तथा सरकारको कानूनबाट प्रभावित हुन्छ । पेशागत वा कार्यक्षेत्रको नैतिकता गतिशील हुन्छ, ग्राहकसँगको सम्बन्ध, सूचना प्रविधिको विकास, सरकारी कानून तथा सङ्गठनमा गरिएको परिवर्तनअनुसार परिवर्तन हुन्छन् ।

सामन्यतया सङ्गठनमा विश्वसनियता, इमान्दारिता, निष्पक्षता, जिम्मेवारी, उत्तरदायित्व, झुकाव मित्रता, सम्मान र ख्याल राख्ने मूल्यहरू रहेका हुन्छन् । आधुनिक युगमा पेशागत नैतिकताको महत्व उच्च रहेको छ । पेशागत नैतिकता व्यक्ति, समाज वा सङ्गठनको परिचय हो ।

घर, परिवार, छिमेक, समुदाय तथा कार्यालय जहाँतहीँ नैतिकताको आवश्यकता हुन्छ । कार्यक्षेत्रमा नैतिकताले सङ्गठनको उद्देश्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

पेशागत नैतिकताले व्यक्तिको मनोवृत्ति र नैतिक व्यवहारलाई घर होस् वा समाज वा पेशामा होस्, निर्देशित गर्दछ । नैतिकताको प्रोफेशनल जीवनमा झन् बढी महत्व छ । कार्यक्षेत्रमा हुने नैतिकताले सङ्गठन र सङ्गठनमा काम गर्ने कर्मचारीहरूलाई आत्मविश्वासी, गौरवान्वित र इज्जतिलो बनाएको हुन्छ ।

पेशागत नैतिकताले सङ्गठनात्मक मूल्य निर्माण र दिगो पालना हुने, सङ्गठन र कर्मचारीको उत्पादकत्व बृद्धि हुने, टोलिगत कार्य नतिजामूलक बन्ने, कार्यालयको सम्पत्तिको संरक्षण सुनिश्चितता हुने, कर्मचारी कर्मचारीबीच हार्दिक सम्बन्ध हुने, कर्मचारीले आफूलाई मूल्यवान सम्झने, कर्मचारीको मनोबल, सच्चापन र चरित्र उच्च रहने, सङ्गठनको प्रतिष्ठा र ब्राण्ड मूल्य बृद्धि हुने हुन्छ ।

यसले सकारात्मक संस्कृतिको विकास हुने परिवर्तनको सहज ग्रहण गरिने निर्णय लिन र कार्यान्वयन गर्न सहज हुने, समस्याविहीन कार्य वातावरण बन्ने, पेशामा नकरात्मकताको शून्यता हुने, कानूनी मुद्दाहरू कम हुने, सङ्गठनको नैतिकताको स्तरले सङ्गठनको कार्यसंस्कृति परिस्कृत बन्ने तथा सङ्गठनलाई अपत्यारिलो सफलता हात लाग्ने हुन्छ ।

निजामती सेवालाई नैतिकवान बनाउने विभिन्न उपायहरू अवलम्वन गरिएको छ । नेपाली समाज एक धर्मनिरपेक्ष समाज हो । सबै धर्म अपनाउने व्यक्तिहरू आआफ्नो धार्मिक दर्शनबाट दिक्षित छन् । निजामती सेवालाई नैतिकवान बनाउनका लागि सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीहरूको योग्यता परीक्षण लोकसेवा आयोगले गर्दै आएको छ ।

निजामती सेवा ऐनमा निजामती कर्मचारीहरका लागि आचरणको व्यवस्था गरिएको छ । कर्तव्यमुखी, शिक्षाप्रद र अनुशासनउन्मुख संहिताको व्यवस्था छ । सार्वजनिक संस्थानहरूका लागि पनि तत् तत् निकायहरूमा काम गर्ने कर्मचारीहरूका लागि पनि आचारसंहिताको व्यवस्था गरिएको छ ।

सुशासन ऐन २०६४ मा कुनै उच्च पदमा रहेको कर्मचारीले सेवामा रहँदा गरेको निर्णय प्रभावित नहोस् भन्ने हेतुले सेवाबाट अलग हुने बित्तिकै कुनै गैरसरकारी संस्था वा विदेशी सहयोगदाता संस्थामा नोकरी गर्न नपाइने व्यवस्था पनि गरेको छ ।

कर्मचारीले सेवामा रहँदा अधिकारको दुरूपयोग, अनुचित कार्य वा सार्वजनिक सम्पतिको दुरूपयोग वा आर्थिक अनियमितता नगरोस् भनेर नेपालको संविधानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएकोछ । लेखापरीक्षणको लागि महालेखा परीक्षकको व्यवस्था छ ।

मन्त्री तथा संवैधानिक आयोगका पदाधिकारी, समय समयमा राजनीतिक नियुक्त हुने पदाधिकारी तथा प्रत्येक कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था पनि कानुनमा गरिएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाले कामकारवाहीमा पारदर्शिता कायम गर्ने, भ्रष्टाचार रोक्न भ्रष्टाचार निवारण ऐन २०६४, र निजामती सेवा ऐनमा व्यवस्थापन परीक्षण गर्ने व्यवस्था गरिएको छ भने स्वतन्त्र प्रेसको व्यवस्था पनि रहेको छ ।

सङ्गठनमा नैतिकताको पालना, संरक्षण र प्रबद्र्धन आवश्यक हुन्छ । सङ्गठन वा समस्त प्रशासन प्रणालीमा नैतिक मुद्दाहरूलाई स्पष्ट देख्न नसक्ने र देखे पनि कारवाही वा दण्डित गर्न नसक्ने अवस्था रहेको पाइन्छ । प्रशासन प्रणाली तथा सङ्गठनमा नैतिक समस्या खडा हुनु भनेको समय, स्रोतसाधन, शासन प्रणालीको प्रतिष्ठाको नोक्सानी हुनु हो ।

जनतामा कर्मचारी प्रणालीप्रति अविश्वास बढ्नु हो । प्रत्येक समाज धार्मिक दर्शनले सिञ्चित छ र कुनै पनि धर्मले कर्म गर्न निषिद्ध गर्दैन र कर्म गर्दा बदमासी गर पनि भन्दैन । यस अवस्थामा किन शासन प्रणाली अनैतिक, भ्रष्ट र अनुत्तरदायी भएर आएको छ ? अध्ययन अनुसन्धानको विषय बनेको छ ।

भनिन्छ, मान्छेको इमान्दारिताको परख उसलाई पावर दिएपछि देखाउने व्यवहारले दर्शाउँछ । आफनो पदको प्रभावले अर्काको कामलाई प्रभावित गर्ने प्रवृतिलाई निरूत्साहित गर्नुपर्दछ । कुनै व्यक्ति वा संस्थालाई विशेष लाभ वा सहुलियत दिई अवकासपछि रोजगारीको लागि सुनिश्चित गर्ने प्रवृत्तिलाई कानूनत नियन्त्रण गरिनुपर्दछ ।

सङ्गठनमा कर्मचारीका लागि आध्यात्मिकताको ज्ञान र अभ्यास हुन आवश्यक हुन्छ । कर्मचारीलाई उत्प्रेरित र कर्तव्यनिष्ट बनाउने संयन्त्रको खोजी र स्थापना गर्न आवश्यक हुन्छ । यदि सङ्गठनको माथिल्लो तहमा नैतिकता कमजोर छ भने त्यो कमजोरी सङ्गठनभरि फैलिन्छ । सम्पूर्ण शासन प्रणाली वा सङ्गठनको सही व्यवस्थापनका लागि इमान्दार नैतिकवान नेतृत्व र नैतिक सञ्चारको विकास गर्नुपर्दछ ।

निजामती सेवामा नैतिकताको प्रबद्र्धन गर्न सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, कर्मचारीका लागि पर्याप्त पारिश्रमिकको व्यवस्था गर्ने, आचार संहिताको जानकारी गराउने र पालनामा जोड दिने, नैतिक शिक्षा र तालिम दिने, नैतिक व्यवहारलाई पुरस्कृत र अनैतिक व्यवहार देखाउनेलाई सजाय दिने, कार्य वातावरणलाई पारदर्शी र विधिसम्मत बनाउने कुरामा जोड दिनुपर्छ ।

कार्यसम्पादनलाई पारदर्शी बनाउने, कर्मचारी सेवाप्रतिउन्मुख र कार्यविधिमा स्वच्छता राख्ने, ‘न्यूजपेपर टेष्ट’ आज व्यक्त अनिश्चितता भोलिको न्यूजपेपरमा कसरी लेखिन्छ सो आधार निर्णय गर्ने, कानूनको भाषा सरल र बोधगम्य बनाउने, विद्यालयतहको शिक्षामा नैतिक विषय पढाउने र महान् व्यक्तिहरूको आर्दश जीवनको परिचय दिने तथा समाजमा नैतिक वातावरणको पुनरूत्थान गर्ने व्यवस्था गर्नु पर्दछ ।

त्यस्तै, कामगर्दा नियम विधिभन्दा नैतिकतालाई प्राथमिकता दिने, नैतिक व्यवहारको कार्यसम्पादन मूल्याङ्कन गर्दा मूल्याङ्कन गर्ने, नैतिक व्यवहारको लागि कर्मचारीहरूलाई सङ्गठनमा बनाइएका मार्गनिर्देशन, नैतिक स्टयाण्डर्डको बारेमा सञ्चार गर्ने, कामसँग सम्बन्धितसँग उपहार लिने प्रथालाई बन्द गर्ने, सङ्गठनमा नैतिक वातावरण, अनुशासित जीवनचर्या र नैतिक संस्कृतिको विकास गर्ने हुनुपर्छ ।

उच्च पेशागत नैतिक स्टयाण्डर्ड बनाएर लागू गर्ने, कार्यक्षेत्र नैतिकताको सम्बन्धमा कर्मचारीबीच पर्याप्त छलफल गर्ने, सङ्गठनमा विभेद र उत्पीडनविरूद्ध नीति बनाउने तथा कुनै पनि कार्य गर्न गरिने निर्णय लिँदा तीन पटक सोच्ने गर्नुपर्दछ काम किन गरिदै छ, त्यसको प्रभाव के हुन्छ, त्यसको कार्यान्वयनको सम्भावनाको बारेमा पटक पटक सोच्नु आवश्यक हुन्छ ।

कर्मचारीले सङ्गठनमा सँधै एक नम्बर नैतिकवान एवम् उत्कृष्ट हुन उद्यत हुने विश्वसनीय बन्ने मित्रवत र सम्मानित बन्ने इमान्दार, कला र पारदर्शी बन्ने सक्षम बन्ने र अद्यावधिक भैरहने, सधैं नैतिकवान रहने, सच्चरित्रवान रहने, विश्वास योग्य बनेर असल उदाहरण बनाउने तथा पूर्ण व्यवसायिक बन्ने प्रयास गर्ने प्रवृत्तिले पेशागत नैतिकतालाई प्रवर्धन गर्दछ ।

नैतिक दर्शन र सिद्धान्तहरूले केवल सैद्धान्तिक ज्ञान मात्र दिएको हुन्छ । कार्य सम्पादनको दौरान अनेकौ नैतिक सङ्कट वा द्विविधा आउने गर्दछन् । त्यस्तो अवस्थामा निर्णय लिन निकै कठिन हुन्छ र निर्णय विवादास्पद बन्न पनि पुग्दछ ।

नैतिक डिलेमाका केही उदाहरणहरू (क) बहुमतमाको पक्षमा निर्णय गर्दा अल्पमत मर्कामा पर्ने, (ख) कानून, नियम र विधिसम्मत निर्णयगर्दा कतिपय अवस्थामा व्यवहारिक समस्या उत्पन्न हुने र (ग) अधिकार प्राप्तहरूको पक्षमा निर्णयगर्दा अर्को सामान्य पक्षलाई मर्का पर्ने अवस्था नैतिक द्विविधाका उदाहरण हुन् ।

नैतिक रूपमा के गरूँ के नगरूँ भन्ने अवस्थामा प्रस्तावित निर्णयलाई मिडिया टेष्ट गर्न सकिन्छ । सम्बन्धित पक्षहरूसँग खुला छलफल गर्न सकिन्छ । सामाजिक सञ्जाल वा मिडियामा वादविवाद गराउन सकिन्छ । तर सङ्गठनमा देखिने सबै प्रकारका नैतिक डिलेमाहरू हटाउने जिम्मेवारी सँधै नेतृत्वको हुन्छ । सङ्कीर्ण र सङ्क्षिप्त प्रयासले नैतिकतालाई प्रवर्धन गर्न सकिदैन । समष्टिरूपमा राज्य, समाज र व्यक्तिको उदात्त सत्प्रयासले कार्यक्षेत्रमा नैतिक मूल्य, नैतिक व्यवहार र नैतिक जीवन प्राप्ति हुन्छ ।