• मंसिर ७ २०८१, शुक्रबार

उपत्यकामा पानी उद्योगले गरिरहेछन् अत्याधिक दोहन, भविष्यमा निम्तन सक्छ जोखिम

असार १३ २०८०, बुधबार

काठमाडौं । उपत्यका २० वर्ष पहिला कुलो,कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी हिटी सुख्खा देखिन थालेको छ ।

उपत्यकाको अधिकांश ठाउँमा कलकल बग्ने कुलो, पोखरी, हिटीमार्फत पानीको वैज्ञानिक प्रणालीमा पुर्खाले गरेको विकास अहिले नासिदै जान थालेका छन् । ‘अहिले तिनै पोखरीमा जाने हो भने पानी भण्डार देखिदैन, सुख्खा देखिन्छन्, काठमाडौं महानगरपालिका ५ का विष्णु मानन्धर भने, हाम्रो बाजेदेखि हाम्रो पुर्खासम्मले देखेको पोखरी अहिले एकाएक सुकेको छ ।’

उनको अनुभवमा पछिल्लो १० वर्षमा त भूमिगत पानी पनि मुस्कलले आउन थालेको छ । जमिनमुनि पहिलो तहमा पानी सकिएर ‘स्यालो ट्यूबवेल’ काम नलाग्ने भएपछि अहिले व्यवसायिक रुपमा पानी बेच्नेले डिप बोरिङमार्फत दोहन तीव्र भएको छ । यो अबस्था भोलीको दिनमा अझै बढ्ने देखिन्छ । सरकारले नियमन नगर्ने र खानेपानीको निर्देशिका अनुसार चल्दा भोलिको दिन अझै भयावह हुने अबस्था छ ।

व्यवसायिक प्रयोजनका नाममा भूमिगत पानीको अत्याधिक दोहन गर्न दिदाँ अहिले यो समस्या उपत्यकामा बिकराल रुपमा देखिदै आएको छ । उपत्यकामा प्रणालीगत पानीको स्रोतमा ध्यान नजादाँ २० हजार रुपैयाँ तिरेर वर्षभरी पानी उद्योग कम्पनीले करौडो कमाइरहेका छन् । ति उद्योगले सरकारकै सहयोगमा भूमिगत पानीको दोहन गरिरहेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकअनुसार काठमाडौंमा अहिले अनुमति लिएका ट्यूबवेल/डिप बोरिङको संख्या ४ सय १९ वटा छन्। १ सय ३३ अनुमति लिने प्रक्रियामा रहेका छन्।

कानुनको आडमा व्यवसायीको रजाइ
यसरी अत्याधिक भूमिगत पानीको दुरुपयोग हुनुमा व्यवसायीहरुले कमजोर जगमा बनेको कानुनको सहारामा वार्षिक २० हजार तिरेर अर्बौको व्यापार गरिरहेका छन् । ‘भूमिगत श्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धी निर्देशिका, २०७१’ मा भूमिगत पानीको प्रयोगका लागि लिइने अनुमतिमा वार्षिक २० हजार रुपैयाँ तोकिएका कारण सबैलाई एउटै मूल्य लिँदै आएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भनाइ छ।

‘भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९’ विपरितको निर्देशिकाले भूमिगत पानीको दोहनमा सहयोग गरिरहेको छ। के सबै पानी उद्योगलाई एउटै बाकसमा हालेर निर्देशिका बनाउँदा व्यवसायीले फाइदा उठाइरहेका छन् भने नागरिक चर्को मूल्यमा पानी किन्न बाध्य छन् ।

एउटै उद्योगले निकाल्छन् बार्षिक ८७ करोड लिटर भन्दा बढी पानी
यसरी पानी दोहन गर्ने उद्योगले ट्युबवेलको अनुमतिबाट वार्षिक ८७ करोड भन्दा बढी पानी लिने गरेको पाइएको छ । गणेश खानेपानीले चारवटा ट्यूबवेलको अनुमति लिएको छ। अनुमति अनुसार उसले प्रतिदिन ८ लाख लिटर पानी ट्यूबवेलबाट निकालिरहेको छ । यसरी वार्षिक रुपमा हेर्दा गणेश खानेपानीले ८७ करोड लिटरभन्दा बढी पानी निकालिरहेको छ । जसले ४ वटा ट्युबवेलको ८० हजार रुपैयाँ तिरेर वार्षिक ८७ करोड लिटरभन्दा बढी पानी निकाल्ने गरेको छ ।

त्यस्तै धौलागिरी खानेपानीले चारवटा ट्यूबवेलको अनुमति लिएको छ । वार्षिक रुपमा चारवटाको ८० हजार रुपैयाँ मात्रै तिर्दै आएको छ। साथै श्रीजी खानेपानी तीनवटा ट्यूबवेलको अनुमति लिएको छ। प्रतिदिन १ लाख ४० हजार लिटर पानी तान्ने पाउन गरी अनुमति लिएको छ। उसले दैनिक ३ वटाबाट ४ लाख २० हजार लिटर पानी तान्न पाउँछ। उसले वार्षिक ३ वटाको ६० हजार रुपैयाँ मात्रै तिरेको छ।

प्रवेश महत वाटरले चारवटा ट्यूबवेलको अनुमति लिएको छ। दुई वटाबाट प्रतिदिन २ लाख १५ हजारका दरले ४ लाख ३० हजार लिटर पानी तान्ने अनुमति पाएको छ । यो कम्पनीले नयाँ एउटा ट्यूबवेल थप गरेको छ । सो ट्यबवेलबाट दैनिक चार लाख लिटर र अर्कोबाट दैनिक २ लाख १६ हजार लिटर पानी तान्न अनुमति लिएको छ।

यो कम्पनीले कुल दैनिक १० लाख ४६ हजार लिटर पानी तान्न अनुमति लिएको छ। तर सरकारलाई तिर्नुपर्ने रकम भने प्रति ट्यूबवेल/बोरिङको २० हजार रुपैयाँका दरले ८० हजार रुपैयाँ मात्रै छ। जोरपाटीमा पानीको स्रोत सुक्दै जान थालेपछि अहिले यो कम्पनीले सामाखुसीबाट २ वटा सञ्चालन गरिरहेको छ ।