• मंसिर ११ २०८१, मंगलवार

मानवता नै इस्लामको शिक्षा हो

असार ११ २०८०, सोमबार

कुनै पनि जातजातिको व्यक्ति यदि ऊ इस्लामका पाँच आधार स्तम्भहरुलाई पालना गर्छ । शरीयते इस्लामका सबै अहम् कामहरुलाई स्वीकार गर्छ । शरीयते इस्लामले गर भनेका काम गर्छ र नगर अर्थात् निषेध गरिएका काम गर्दैन भने मात्र ऊ मोमिन मुसलमान हो ।

मुसलमानको घरमा जन्म हुने, मुस्लिम नाम राख्ने, लामो दाह्री पाल्ने, मुस्लिम लुगा जस्तैः कुर्ता पाईजामा टोपी हिजाब नकाब लगाउने जति सबै मुसल्लम इमान भएका मोमिन मुसलमान हुदैँनन् ।

यसकारण यदि कोही व्यक्ति महिला वा पुरुष नीजि स्वार्थका लागि लामो दाह्री पालेर इस्लामी ड्रेस कुर्ता पाइजामा टोपी वा हिजाब नकाब आदि लगाएर शरीयते इस्लामले निषेध गरेका काम जस्तैः कसैलाई दुःख दिने, छिमेकीलाई सताउने, कसैको सम्पत्ति हडप्ने, आँखाको पर्दा नगर्ने अर्थात् कसैको छोरीचेलीलाई नराम्रो नियतले हेर्ने, लामो नङ पाल्ने, नेल पालिस लगाउने, पाटी, जन्ती वा टिकटक जस्ता अन्य सामाजिक संजालमा नाच्ने जस्ता काम गर्छ भने त्यो कदापि मुसलमान होइन ।

यस्तो कार्य गर्ने व्यक्ति नाम मात्रको मुसलमान हो जसले कि त फेमस हुनका लागि, कि त फ्लोवर बढाउनका लागि अथवा उसको मुख्य उद्देश्य अर्थात् फेमस भइ फ्लोवर बढाएर पैसा कमाउन वा धन सम्पत्तिको लागि तिनले वाहियात हर्कत गरिरहेका हुन्छन् । यहाँ करबलाको युद्ध र त्यसपछिको घटना बारे संक्षिप्तमा बयान गर्नु उचित होला । यसले अझ प्रष्ट हुनेछ कि इस्लाम वास्तवमा शान्तिको धर्म हो र मानवता यसको शिक्षा ।

इस्लामी वर्ष अनुसार पहिलो महिना मुहर्रमुलहराम हो । जसको आफ्नै विशेषता छ तथापि यहाँ अलिकति प्रकाश मात्र पार्ने हो । जब करबलाको युद्धमा इमाम हुसैन अलैहिस्सलाम (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका नाती)को पुरै परिवार र साथीभाईहरुलाई भोकै, पानी नदिएर प्यासै ६ महिनाका दुधमुखे बालक अली असगर अलैहिस्सलामलाई समेत शहीद गरियो ।

युद्ध पश्चात जब केही समयपछि उनका परिवारलाई शहीद गर्ने व्यक्ति जो तिर्खाले व्याकुल थियो उहाँ कहाँ आयो अनि पानी माग्यो । इमाम हुसैन अलैहिस्सलामका छोरा इमाम जैनुलाबदीन अलैहिस्सलामले उसलाई पानी दिनुभयो उसले भन्यो अझै तिर्खा लागेछ उहाँले फेरि पानी दिनुभयो ।

उसले फेरि भन्यो अझै तिर्खा लागेछ उहाँले फेरि पानी दिनुभयो । उसले पानी माग्दै जाँदा इमाम जैनुलाबदीन अलैहिस्सलाम दिँदै गर्नु भयो । ऊ आश्चर्य चकित भइ भन्यो ‘शायद तपाईंले मलाई चिन्नु भएन् ।’

इमाम जैनुलाबदीन अलैहिस्सलामले फर्माउनुभयो ‘हाँ चिनेको छु तिमीले करबलाको युद्धमा मेरा परिवारजनलाई एक थोपा पानी नदिएर प्यासै शहीद गरेका थियौं ।’

उसले भन्यो ‘जब तपाईंले मलाई चिनिसक्नु भयो अनि पानी किन दिनुभयो जबकि मैले तपाईंको परिवारजनलाई पानी नदिएर प्यास शहीद गर्ने व्यक्ति हुँ ।’

इमाम जैनुलाबदीन अलैहिस्सलाम फर्माउनु भयो त्यो तिम्रो व्यवहार र संस्कार थियो यो मेरो अर्थात इस्लामी संस्कार हो ।
हदीश शरीफको मफूम छ की एक पल्ट एक जनाको छोरा हरायो र छोरा नभेटिए पछि उनी नबीकरीम कहाँ हाजिर भए र अर्ज गरे ऐ अल्लाहका रसूल मेरो छोरा हराएको छ भेटिरहेको छैन् के गरुँ ?

नबीकरीम सल्लल्लाहो अलैहे वसल्लम फरमाउनु भयो की फलाना बगैचामा तिम्रो बच्चा खेलिरहेकोछ गएर ल्याऊ । तर त्यहाँ गएपछि तिमीले तिम्रो बच्चालाई छोरा नभन्नु उसलाई अंगालो नहाल्नु उसलाई काखमा न उठाउनु ।

व्यक्तिले आश्चर्यका साथ बडो विनम्रताका सोधे या रसूल्लाह ऊ मेरो छोरा जो हराएको थियो । उसलाई देखेपछि माया त स्वाभाविक लाग्छ । अनि मैले मेरो छोरालाई छोरा नभन्ने उसलाई अंगालो नहाल्ने उसलाई काखमा नउठाउने किन होला कृपया प्रष्ट पार्नु हुन आग्रह गर्छु ।

व्यक्तिको जवाफमा सरवरे कायेनात नूरे मुजश्शम हजरत मोहम्मद सल्लल्लाहो अलैहेवसल्लम फरमाउनु भयो “तिम्रो हराएको छोरा भेटिए पछि माया लाग्नु स्वाभाविक नै हो तर त्यस बगैचामा शहीदहरुको (युद्धमा मिरिएकाहरुको) बच्चा पनि संगै खेल्दैछन् ।

तिमीले यदि मायाले आफ्नो बच्चालाई मायाले छोरा भनी बोलायौ भने ती अनाथ बच्चाहरुलाई आफू अनाथ भएको कुराले चित्त दुख्छ । यदि तिमीले आफ्नो बच्चालाई मायाले काखमा उठाउछौं भने ती टुहुरा बच्चाहरुलाई आफ्नो बुवाको कमी महशुस हुन जान्छ र तिनीहरुको मन दुख्नेछ । त्यसकारण घर लगेर जति माया स्नेह लुटाउनु छ लुटाउनु तर त्यहाँ ख्याल गर्नु की ती अनाथ बच्चाहरुको चित्त नदुखोस् ।

जुन धर्मले छोरा भनेपछि चित्त नदुखोस् भनेर एतियात गर्न सिकाउँछ । जुन धर्मले आफ्नो त्यो शत्रुलाई माफ गर्न सिकाउँछ जसले पूरै परिवारलाई क्रुरताका शहीद गरेको आफ्नै आँखाले देखेपनि माफ गर्ने शिक्षा दिन्छ । त्यो इस्लामले कसैलाई कष्ट पीडा दिनुलाई कदापि उचित कार्य ठान्दैन । यसर्थ मानवता नै इस्लामको शिक्षा हो ।