• जेष्ठ २६ २०८२, आईतवार

प्रहरीमा ३० वर्षीय सेवा अबधि हटाउने कानुनी मस्यौदा भइसक्योः गृहमन्त्री श्रेष्ठ

असार १० २०८०, आईतवार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि सरकारले तयारी अघि बढाइसकेको जानकारी दिएका छन्।

गृह मन्त्रालयका लागि आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले ३० वर्षे सेवा अवधि हटाउन लागिएको बताएका हुन्। सर्वोच्चको आदेशअनुसार प्रहरी प्रशासनलाई व्यवस्थित बनाउन आफूले काम गरिरहेको उनले संसदलाई जानकारी दिए।

‘सर्वोच्चको आदेशअनुसार प्रहरीको ३० वर्षको सेवा हटाउन कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले त्यसलाई सरकारले आफ्नो मस्यौदामा राखिसकेको छ। सरकारले सदनमा विधेयक पेश गर्छ’, उनले संसदमा भने।

गृहमन्त्री श्रेष्ठले तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउन, बढुवामा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागि परेको उल्लेख गरे। मनोबल बढाउनका लागि तल्ला तहका प्रहरीको अवकाश १६ वर्षदेखि नै सुरु हुने व्यवस्था लागू गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिए।

जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले जेललाई सुधार गरेर सुधारगृहका रूपमा विकास गर्दै लैजाने पनि उल्लेख गरे।