काठमाडौं । व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ। डीएसपी केसीमाथिको छानबिन अन्तिम चरणमा पुगेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए।
रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो।
लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो।
बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढाएको थियो। तत्कालीन एसएसपी (हाल डीआईजी) चन्द्रकुवेर खापुङको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। खापुङ नेतृत्वको समितिले डीएसपी केसीलाई फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने देखिएको भन्दै प्रतिवेदन बुझाएको थियो।