काठमाडौं । आज राति देशका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले शनिबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
सूचनामा भनिएको छ– देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थान साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ।