काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ ।
शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित र्गयो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुलसन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै डि लीडले नटआउट ४१ रन जोडे । उनले ३९ बलमा ६ चौका प्रहार गरे ।
त्यसअघि सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । सन्दीपले १० ओभरमा २ विकेट लिँदा ६० रन खर्चिए । त्यसअघि नेपाल ४४.३ ओभरमा १६७ रनमै अलआउट भयो ।
नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो । नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् ।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा भान वीकबाट शून्यमा बोल्ड भए । सुरुवातमै दबाबमा परेको नेपालका ओपनर कुशल भुर्तेल १४ ओभरसम्म टिके पनि १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए ।
२७ रन जोडेर आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए । दुई ओभरपछि आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए । यस्तै भीम सार्की १९औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए । केहिबेर कप्तान रोहित पौडेलसँग साझेदारी गर्दा १ छक्का हिर्काएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किए ।
कप्तान रोहित पौडेल छैटौं विकेटको रुपमा ३२औं ओभरमा ३३ रनमा आउट भए । रोहितले आउट हुनुअघि ५५ बलमा ३ चौका र १ छक्का हिर्काए । दीपेन्द्रसिंह ऐरी १४ रनमा भान वीकको बलमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो ।
सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ३२ रनको साझेदारी गरेका गुलसन झा ४२औं ओभरमा १५ रनमा डि लीडको बलमा विकेट पछाडि समातिए । चार बलपछि करण केसी १ रनमा उस्तै अवस्थामा क्याच हुँदा नेपालको नवौं विकेट गएको थियो ।
सन्दीप लामिछाने ३३ बलमा ४ चौकाको मद्दतमा २७ रन जोड्दा नेपालले १५० रन कटाएको थियो । बलिङमा नेदरल्यान्ड्सका भान वीकले ४ विकेट लिए । डि लीड र बिक्रमजितले २–२ विकेट हात पारे । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो ।
दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो । तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो । चौथो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको शीर्ष तीनमा पर्ने सम्भावना सकियो । नेपालले चार खेलबाट २ अंक मात्र जोड्न सक्यो ।
नेपालको सुपरसिक्स सम्भावना सकिएसँगै समूहबाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्न् ।
पाँचपाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीनतीन टिम पुग्नेछन् ।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबरनोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।