• जेष्ठ २७ २०८२, सोमबार

भुटानी शरणार्थी प्रकरण कमजोर बनाउन भारत भ्रमणलाई उपलब्धिको रुपमा चित्रण गरियो : रवि लामिछाने

असार ८ २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने काममा लागि परेको आरोप लगाएका छन् ।

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाएको उनको आरोप छ । सभापति लामिछानेले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको र भारत भ्रमणलाई ठूलो उपलब्धिका रूपमा चित्रण गर्ने प्रयास गरिरहेको पनि बताए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकका महत्वपूणर् मुद्दामा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

सभापति लामिछानेले राज्यका संयन्त्रले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । सभापति लामिछानेले राष्ट्रका महत्वपूणर् मुद्दालाई छाडेर सरकार किन अल्मलिएको छ भनेर प्रश्न पनि गरेका छन् ।