यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।
उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ ।