• जेष्ठ २६ २०८२, आईतवार

बागमती प्रदेशका मन्त्री दुलालले पनि राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

असार ७ २०८०, बिहीबार

हेटौडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।

मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । गत माघ १० गते तत्कालीन गठबन्धनको सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुलालले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका हुन् ।

भारतले आफ्नो नवनिर्मित संसद भवनमा नेपालका केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्सा राखेपछि त्यसको नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी राखेपछि काठमाडौँका मेयर बालेनले त्यसको विरोधमा पहिलो पटक ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए ।

भारतको सो हस्तक्षपकारी कदमको नेपालीले कडारुपमा प्रतिवाद गरेका छन् । यो विषय हाल विश्वव्यापी बनिरहेको छ ।