काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । नगरसभामा बुधबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले आगामी वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम ल्याएको बताएका छन् ।
उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ रहेको छ । यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’
सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बालेनले बताएका छन् ।
कम्तीमा पाँच हजार नयाँ रोजगारीको सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने बताएका छन् ।