• जेष्ठ २६ २०८२, आईतवार

समाजवादीका सांसदको आक्रोस,‘बजेट विनियोजन सच्याइएन भने यो सरकार भत्काइदिन्छौं’

असार ६ २०८०, बुधबार

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा रोष प्रकट गरेका छन् । आज अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका हुन् । पार्टी उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले अध्यक्षलाई बजेटका पक्षमा भोट नहाल्ने जानकारी गराएको बताए ।

‘अध्यक्षलाई बजेटको असन्तुलन समाधन नभएसम्म भोट हाल्दैनौँ भनेका छौँ,’ उनले भने, ‘भोट हाल्नुको कुनै अर्थ छैन । दुई-चार वटा निर्वाचन क्षेत्र, तीन-चार जिल्लामा बजेट हाल्ने सरकारको अर्थ पनि छैन ।’ सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् ।

उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् ।
‘हामी आफैले बनाएको पार्टी भत्काएर आएकाहरूले सरकार भत्काउन कुन ठूलो कुरा हो र ? हामीले बोलेको मात्रै नठानियोस्,’ सांसदहरूको चेतावनी छ । सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष नेपालले संसदीय दलको बैठक आह्वान गरेका छन् । आज पनि छलफल भएको र बैठक भोलि दिउँसो २ बजे बस्ने पाण्डेले जानकारी दिए ।