• जेष्ठ २६ २०८२, आईतवार

एमालेले चाहे एक हप्तामा यो सरकार ढल्छ : महेश बर्तौला

असार ६ २०८०, बुधबार

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए ।

सचेतक बर्तौलाले सरकार एमालेको प्रयत्नले नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने दाबी गरे । उनले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पारे ।

सचेतक बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको समेत बताए । समाजवादी मोर्चाले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्याउने उनले बताए ।

उनले भन,‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

सचेतक बर्तौलाले समाजवादी मोर्चा गठबन्धन भित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हितमा काम नगर्ने उनले टिप्पणी गरे । उनले मोर्चामा आबद्ध दलहरू बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गरे ।