• मंसिर ११ २०८१, मंगलवार

नेपालमा रासायनिक मल कारखाना खोल्न आवश्यक छैन : पूर्वमन्त्री शर्मा

असार ६ २०८०, बुधबार

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै शर्माले उक्त कुरा बताएका हुन् ।

अर्गानिक मल कारखानाको भने अवश्यक रहेको शर्माले बताए । आफ्नै स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना नेपालले बनाउन सक्ने उनको भनाइ थियो ।

‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल खारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ,’ शर्माले भने, ‘हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ ।’

कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्डस्टोरहरू स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने शर्माले बताए ।

‘कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्डस्टोरहरू बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ,’ शर्माले भने ।