काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यसै हप्ताको आइतबार र सोमबार चीनको भ्रमण गरे । धेरै विषयमा विवाद रहँदै ब्लिंकेन चीन पुगेका थिए ।
उनले चीनसँगको सम्बन्ध सुधार्नका लागि उक्त भ्रमण महत्वपूर्ण भएको बताएका थिए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेपछि पत्रकार सम्मेलनमा भनेका थिए, ‘चीन र अमेरिकाको सञ्चारलाई सुदृढ गर्न र सम्झौता तथा असहमतिका स्पष्ट क्षेत्रहरू पहिल्याउन मैले चीन भ्रमण गरेको हुँ । अमेरिका र चीनबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ र त्यो द्वन्द्वमा परिणत हुन नहुनेमा दुवै सचेत हुनुपर्छ ।’
ब्लिंकेनले चीन र अमेरिकाबीचको सम्बन्धलाई ‘परिणाममूलक’ भनेका थिए र उनले राष्ट्रपति सीसँग सबै नेताहरूसँग गरेका छलफलहरू रचनात्मक भएको उल्लेख गरेका थिए ।
उनले अमेरिकाले एक चीन नीति स्वीकार गर्ने र ताइवानको स्वतन्त्रतालाई आफूहरूले कहिल्यै समर्थन नगर्ने पनि जनाएका थिए । सोमबार नै उनी स्वदेश फर्किएका थिए तर, ब्लिंकेन अमेरिका फर्किएको भोलिपल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने चीनका राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिएका छन् ।
मंगलबार क्यालिफोर्नियामा आयोजित कार्यक्रममा बाइडेनले चीनले जासुसी बेलुन अमेरिकी क्षेत्रहरूमा उडाएको भन्दै असन्तुष्टि व्यक्त गरे । चीनको जासुसी बेलुनलाई अमेरिकाले खसालेको विषयमा चिनियाँ राष्ट्रपति सी लज्जित भएको पनि बाइडेनको भनाइ थियो ।
उनका अनुसार अमेरिकाले जासुसी उपकरणले भरिएको चिनियाँ बेलुनलाई खसालेपछि सी निकै रिसाएका छन् । बाइडेनले यसक्रममा सीलाई इंगित गर्दै भनेका छन्,‘यो तानाशाहहरूका लागि ठूलो लज्जास्पद कुरा हो ।’
यस विषयमा चीनले भने कुनै प्रतिक्रिया जनाएको छैन तर, अमेरिकी विदेशमन्त्रीको पछिल्लो भ्रमणले सम्बन्ध सुधारका लागि गरेको प्रयास यस्ता टिप्पणीले असफल बनाइदिने विश्लेषण भइरहेका छन् । बीबीसीको सहयोगमा ।