काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल सजाय तोकेको छ । मंगलबार अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र यमुना भट्टराईको इजलासले कर फर्छर्यौट आयोगको भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो ।
यस्तै, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना र सदस्य उमेश ढकाललाई ९ वर्षको कैद सजाय हुने फैसला विशेष अदालतले गरेको हो । यस्तै, अदालतले ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।
यसअघि जेठ १८ मा विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको थियो । विशेष अदालतले सहसचिव शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमार्फत् व्यापारीहरूलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मासहित तीन जनाविरुद्ध २०७८ असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख ३० हजार ३८५ रुपैयाँ बिगो माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम सो बराबरको बिगो रकम र दफा ३ को उपदफा (१) बमोजिम कैदसहित जरिवानसमेतको सजाय माग गरेको थियो ।