काठमाडौं । अविरल वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरुमा आएको बाढी, पहिरोबाट १० जनाको मृत्यु, ६ जना घाइते र करिब २ दर्जनभन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, संखुवासभामा आएको बाढी, पहिरोको कारण अहिलसम्म पनि उद्धारमा कठिनाइ भएकोले पूर्ण रिपोर्ट आउन अझै केही दिन लाग्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा गृहमन्त्री नारयाणकाजी श्रेष्ठले उक्त क्षेत्रको वस्तुस्थितिबारे सदनलाई जानकारी गराउँदै उक्त जानकारी दिएका हुन्।
‘विविदका कारण हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते र २६ जना बेपत्ता ५४ घरमा पूर्ण क्षति भएको छ,’ मन्त्री श्रेष्ठले सदनलाई जानकारी गराए। यस्तै, विपदका कारण मृत्यु भएका परिवारलाई सरकारले १ जनाको मृत्यु भएमा २ लाख, सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री श्रेष्ठले बताए।
यस्तै, घरबास क्षति भएकालाई गुजारा चलाउन १५ देखि २० हजार उपलब्ध गराउने प्रबन्ध मिलाइएको उनले सदनलाई जानकारी गराएका छन्। विपदमा परकालाई तत्काल उद्धार र राहतको कार्यक्रम तीन वटै सरकार मिलेर ल्याएको पनि मन्त्री श्रेष्ठले स्पष्ट पारेका छन्।