काठमाडौं । नेपालका मगर समुदायले भर्खर मात्रै आफ्नो साँस्कृतिक भूमे पर्व मनाएका छन् । भुमे पर्व मनाएको २-४ दिन बितिसकेकै भएपनि यसका बारेमा यही सन्दर्भ पारेर केही चर्चा गर्नु सान्दर्भिक नै होला । भुमे पर्व मगरहरुको मौलिक पर्व हो । मगर समुदायमा यस्ता पर्वहरु धेरै छन् । जो प्रकृतिसित जोडिएका छन् । मगर समुदाय आफैमा प्रकृतिपूजक समुदाय हो । समयक्रम र प्रकारान्तरले विभिन्न धर्ममा आवद्द भएको पनि उनीहरु परापूर्वकालदेखि प्रकृतिपूजक नै हुन् । उनीहरुको माघी, साउने सक्राती जस्ता थुप्रै पर्वहरुमध्ये भूमे पर्वपनि एक हो ।
यी पर्वहरुमा मिठो खाएर र रमाइलो गरेर मनाउने गरिन्छ । खाने, लगाउने र रमाउने कुरा स्वभाविकैरुपमा प्रकृतिसित जोडिएको विषय हो । अर्थात् उत्पादनसित जोडिएको विषय हो । यद्यपी चाडहरुको उत्पत्ति र अभ्यासको लामो समयको अन्तरालमा यिनमा कति प्राकृतिक र कति अन्धविश्वास थपिएको छ भनेर अलि सुक्ष्म तरिकाले हेर्नुपर्दछ । बहुभाषिक, बहुसाँस्कृतिक र बहुपहिचानको उदाहरण भएको नेपालमा मगर समुदायपनि पहिचान सहितको एक समुदाय हो । विदेशी संस्कृतिकाे बाेलावाला चलिरहेकाे बेला यसरी नेपाली माैलिक चाड मनाउनु पनि विदेशी हस्तक्षेप विरूद्दकाे प्रतिराेध हाे ।
भर्खर सार्वजनिक भएको ०७८ को जनगणनामा मगर समुदाय ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४ सय ९७ को संख्यामा रहेका छन् । तर यसपालीको जनगणनामा सरकारको तथ्यांक कार्यालयले मगर जातिलाई विभाजन ल्याइदिएको छ । तथ्यांक कार्यालयले मगर समुदायभित्रको पुन थरका जनतालाई छुट्टै जातिको रुपमा स्थापना गरिदिएपछि यो समुदायमा विभाजन आएको हो । तर मगर अगुवाहरुले यो विषय गलत भएकोले तत्काल सच्याउन माग गरेका छन् । र सरकारले पनि सच्याइने बाचा गरेको छ । यो विषय छलफलद्वारा हल गरियोस् भन्ने चाहना मगर समुदायका अगुवाहरुको रहेको छ ।
उनीहरुको यो विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरिदिने आशा मगर अगुवाहरुको रहेको छ । प्रधानमन्त्री दाहालले भुमे पर्वको अवसरमा असार १ गते खुलामञ्चबाट नै यो विषय हल गरिने प्रतिवद्दता व्यक्त गरेका कारणले पनि मगर समुदायका अगुवाहरु ढुक्क भएका छन् । सो अवसरमा बोल्दै प्रम दाहालले जातिहरुलाई फुटाएर देशको हित नहुने बताए र तथ्यांक कार्यालयका प्रमुखलाई तथ्यांक सच्याउन निर्देशन दिएको पनि बताए । यसअघि जनजाति समुदायका अगुवाहरुले यो तथ्यांक सच्याइनु पर्ने भन्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।
मगर समुदायले असार १ देखि ३ गतेसम्म भुमे पर्व धुमधामका साथ मनाए । समारोह समापन कार्यक्रम पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले गरे । नेपालका आदिवासी जनजातिहरुले मनाउने हरेक पर्वहरु प्रकृतिसित जोडिएका हुने भन्दै उनले सबैजना यसरी भेट भएर आफ्ना बालिनाली राम्रो हवस्, रोगव्याधि नलागोस् भनेर र रमाइलोसहित प्रकृतिको पूजा गर्दै आएको बताए ।
उनले यस्ता चाडहरुलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताए । मन्त्री किराँतीले पूर्वतिरका जनजाति पनि गोलाकार बनाएर नाच्ने गर्दै आएको र मगरहरु पनि गोलाकारमा नाच्ने गरेको देख्दा अचम्म लागेको भन्दै उनले गोलाकारको अर्थ सामुहिकता भएको बताए । समूह नै शक्ति भएको उनको ठम्याइ थियो । उनले ‘दुःख पाइयो भने मगर गाउँमा जानु’ भन्ने उखान सही भएको भन्दै यसलाई उनले समाजवादको अभ्यास भएको बताए ।
मन्त्री किराँतीले संविधानमा समाजवाद उल्लेख गरिएको भएपनि समाजवाद कहाँबाट आउला भनेर खोजिरहँदा समाजवाद आफ्नै समाजमा खोज्नु पर्ने बताए । उनले भने,‘समाजवाद हाम्रो माटोमा छ, हाम्रो समाजमा छ, यही माटोबाट उब्जिएको समाजवादमा वैज्ञानिकता थप्यौं भने वैज्ञानिक समाजवाद हुन्छ, हामीले समाजवाद विदेशबाट ल्याउन खोज्यौं भने दुःख पाउने छौं, किन कि विदेशबाट ल्याएको समाजवाद हाइब्रेड हुनेछ, त्यसैले हामीले हाम्रो समाजमा रहेको समाजवादलाई हुर्काउने प्रयास गर्नुपर्दछ । यहीँको माटोमा नै हाम्रो समाजवाद छ ।’
नेपाली किसिमको समाजवाद बनाउने हो मगर समुदायमा फर्किनु पर्ने उनको तर्क रहेको छ । मन्त्री किराँतीले एक प्रसंगमा नुन, पानी र रोटीसहितको समाजवाद अबको आवश्यकता रहेको औंल्याए । उनले भ्रष्टाचार देशकै शत्रु भएकोले यसलाई निस्तेज पार्नुपर्नेका जोड दिए ।
मन्त्रीजीले समाजवादको कुरा गरिरहँदा सबैले बुझ्नै पर्ने कुरा के-हो भने नेपालका जनजातिहरुमा समाजवाद अर्थात् सामुहिकताको विशेषता पाइन्छ, जो राम्रो कुरा हो तर के आजको पुँजीवादी व्यवस्था (पूँजीको लागि प्रकृति नष्ट गर्ने परिपाटी)ले जनजातिहरुका त्यो विशेषताको संरक्षण गरिरहेको छ ? के जनजातिहरुको प्रकृतिमाथिको स्वामित्वलाई पुँजीवादले अपहरण गरिरहेको छैन ? यस्ता कुराहरुप्रति अध्ययन नेपालका जनजाति अगुवाहरुले चासो दिइरहेका छन् ? यदि आजको व्यवस्थाले जनजातिको पहिचान, थातथलो र अस्तित्वमाथि संकट ल्याउँदैछ भने यो व्यवस्थाप्रति प्रश्न किन नउठाउने ? आज यी र यस्ता ज्वलन्त प्रश्नहरु उठिरहेका छन् । यतातिर पनि नीति निर्माताहरुको ध्यान जावस् भन्ने बहस आज उठिरहेको छ ।
भुमे पर्व मनाउने सो अवसरमा प्रतिनिधिसभाका सांसदहरू सीता रानामगर, इश्वरी घर्तिमगर, कुशुम थापामगर, रणकुमारी बलम्पाकीमगर र संघका निवर्तमान अध्यक्ष नबिन रोकामगरको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल मगर संघका सल्लाहकारहरू र मगर संस्कृति तथा यो समुदायको अध्ययन र अनुसन्धानमा लागेका बौद्धिकहरुको पनि उपस्थिति थियो ।
कार्यक्रमको आयोजना नेपाल मगर संघले गरेको हो । कार्यक्रमको सञ्चालन जीवन प्रवेश रोकामगरले गरेका थिए भने सभापति संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरेका थिए । मगर समुदायका विभिन्न बाजागाजाहरु सहित टुडिखेलमा जम्मा भएका सो समुदायका मानिसहरु अधिकांश मगर भेषभुषामा सजिएर मेला मान्न आएका थिए ।
देशभरबाट काठमाडौंमा आई विभिन्न पेसा गर्दै आएका उनीहरुले टुडिखेलमा भूमे पर्व मनाएका हुन् । यो त भयो शहरमा बसेकाहरुले मनाएको भूमे पर्वको सेरोफेरोको कुरा । के यो पर्व गाउँबस्तीहरुमा बसोबास गर्दै आएका मगरहरुले पनि यसरी नै मनाइरहेका छन् त ? यो भने खोजकै वियय बनेको छ ।