काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री वर्षमान पुनले नेपालले भू-राजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसकेमा नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउने उनको भनाइ थियो । कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच र धारणा हुनुपर्नेमा उनले जोड दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा दलगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने पुनले बताए । ‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौँ’, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्र हितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठेरोमा पर्ने स्थिति छ ।’
पुनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा ‘प्रथम महिला’ बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनकी स्वकीय सचिवसमेत रहेकी पुत्री गङ्गा दाहालको सक्रियता र कतिपय भेटहरूमा उनको उपस्थितिलाई लिएर एमालेसहित प्रतिपक्षी दलले प्रश्न उठाएका थिए ।
पुनले राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने उल्लेख गरे ।