• जेष्ठ २७ २०८२, सोमबार

समाजवादी मोर्चामा जाने बारे निर्णयमा पुगिसकेका छैनौं : वामदेव गौतम

असार ४ २०८०, सोमबार

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी मोर्चामा जानेबारे  निर्णयमा  पुगिनसकेको बताएको छ ।

अभियानका प्रवक्ता निमकान्त पाण्डेले सोमबार विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चामा सहभागी हुन प्रस्ताव आएको र संवाद पनि भएको बताएका छन् । उनका अनुसार समाजवादी मोर्चामा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टी  निर्णयमा पुगेको छैन ।

यस्तै नेकपा एमालेसँगको एकतामा सहमति भइनसकेको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच वार्ता भएपनि कुनै सहमति नभएको पाण्डेले बताए ।

पाण्डेका अनुसार नेता तथा कार्यकर्ताको व्यवस्थापनका विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन । गौतमले नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि कार्यदल गठन गर्न गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् ।

ओलीले एमालेमा प्रवेश गरेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनबारे निणर्य गर्ने बताएका थिए । त्यसमा गौतम सहमत नभएपछि छलफललाई निरन्तरता दिने नेताहरु सहमति भएको पाण्डेले जानकारी दिए ।