• जेष्ठ २७ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणः धरौटी बुझाउँदा पनि किन छुटेनन् लक्ष्मी र टंक ?

असार ४ २०८०, सोमबार

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा पक्राउ परेकामध्ये दुई जना धरौटी बुझाएर पनि रिहा हुन सकेका छैनन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेको एकल इजलासले नेपाल प्रहरीकी बहालवाला सई लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङसँग १० लाख धरौटी माग्ने आदेश गरेको थियो । सोही आदेश अनुसार उनीहरु दुवै जनाले धरौटी रकमसमेत बुझाएका थिए । तर, अहिलेसम्म उनीहरु रिहा भएका छैनन्। पाँच वटा कसुरसँगै उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारलेसमेत अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भनेर जिल्ला सरकारी वकिल कार्यालयले लिखित रुपमै उल्लेख गरेको थियो।

धरौटी बुझाउँदासमेत उनीहरु रिहा नहुनुको कारण भने थप कारबाही प्रक्रिया रहेको बुझिएको छ। ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

जसकारण धरौटी बुझाए पनि लक्ष्मी र टंकलाई थप अनुसन्धान तथा कारबाहीका लागि भनेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ। विभागले यी दुबैको बयान सकेर लक्ष्मीसँग ५० हजार र टंकसँग १ लाख ५० धरौटीमा माग गरेको थियो।

उनीहरुले धेरौटी रकम बुझाएपछि थप अनुसन्धान तथा कारबाहीका लागि अहिले उनीहरुलाई अख्तियारमा बुझाइएको सम्पत्ति सुद्धिकरण विभागले जनाएको छ। यो ठगी प्रकरणमा २८ करोड रूपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको थियो।

जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना अभियुक्तहरु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।