सन्तोस कार्की,
कालिकोट । राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको पिलीमा पहिलोचोटी राष्ट्रिय प्रसारण लाइनको विजुली पुगेको छ । गएको सोमबारदेखि पिलीमा परिक्षण प्रसारण शुरु भएसँगै वषौँदेखि अन्धकार झेल्दै आइरहेका पिलिबासीले उज्यालो पाउने भएका छन् ।
वडा सरकारको आर्थिक सहयोगमा एक सय घरधुरीका लागि राष्ट्रिय प्रसारण लाइन जडान भएको हो । जसमा कार्कीवाडा, सारूवाडा नाइवाडा र दलितटोलमा बत्ति बलेको छ । बाँकी रहेका तलसेरा र बजारमा अबको दुई महिनामा बत्ति जडान गर्ने खाँडाच्रक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष दिपकराज कार्कीले बताए ।
कर्णाली प्रदेशको जुम्लासम्म पुगेको राष्ट्रिय विद्युतको प्रसारण लाइन केही वर्षदेखि सदरमुकाममा विस्तार भएको लाइन खाँडाच्रक नगरपालिका ७ पिलीमा पुगेपछि पिलीबासी अब अन्धकारबाट मुक्त हुने भएका हुन् । कुनैबेला पिली माओवादी जनयुद्धको भिषण युद्धस्थल बनेको थियो ।
यसअघि कालिकोटको जिल्ला सदरमुकाम मान्ममा मात्र विजुली जडान गरिएको थियो । आफ्नै आँगन अगाडिबाट पोल ठोकेर तार जोडेर जुम्ला पुगेको बत्ती पनि पिलीका स्थानीयले सदुपयोग गर्न पाएका थिएनन् । आफ्नो घरमा आँगनबाटै गएको बिजुली आज आफ्नो आँगन झिलिमिली बनाउन पाइएकोमा स्थानीयबासी हर्षित भएका छन् ।
स्थानीयले आफ्नो गाउँलाई प्रसारण लाइनसँग प्रत्यक्षरुपमा जोड्न पहल गर्ने वडाअध्यक्ष लगायत सम्पूणर्लाई धन्यवाद व्यक्त गरेका छन् ।