काठमाडौं । विवादित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनिएको संवादको भारतमै विरोध भएको छ । भारतकी चर्चित समीक्षक दीक्षा शर्माले ‘आदिपुरुष’ निर्माताले मनलाग्दी गरेको बताएकी हुन् ।
‘फिल्ममा सीतालाई भारतकी छोरी भनिएको छ । मतलव फिल्मले त्यो जमानामा भारतको कुरा गरिररहेको छ । अरे भारत शब्द हामीलाई राजा भरतकै नामबाट मिलेको थियो, जो रामायणको समयमा जन्मिएकै थिएनन् । यस्तै शीर न पुच्छरको डायलगका कारण यसलाई नेपालमा बन्देज गरिएको हो’, दिक्षाले भनेकी छन् ।
भिडियो मुनि आएका तीन हजारभन्दा बढी कमेन्टमा भ्युअर्सले उनको भनाइमा सहमति जनाएका छन् । आदिपुरुषले पौराणिक कथा र पात्रको भद्दा मजाक गरेको भन्दै उनले ट्विटरमा टिकटको पैसा फिर्ता अभियान चलाउन आव्हान पनि गरेकी छन् ।
दीक्षाले भनिन्, ‘म आग्रह गर्न चाहन्छु, हामी अहिले नै ट्विटरमा #refundaadipurush ट्रेण्ड गराएर आफ्नो टिकटको पैसा फिर्ता मागौँ । जसरी यिनीहरूले रामायणमाथि खेलवाड गरेका छन्, यसको बदलामा एक पैसा कमाए भने त्यो रामायणको हार हुने छ ।’
दीक्षा भारतकी सोसल मिडियो कन्टेन्ट क्रियटर हुन् । फिल्मी इन्डियन नामको युट्युब च्यानलमा उनले फिल्म र वेब सेरिजहरूको रिभ्यु भिडियो हाल्छिन् । दिल्लीकी दीक्षाले दिएको रिभ्यु भिडियो दसौँ लाखले हेर्ने गरेका छन् ।
सीता भारतकी छोरी भएको डायलगको विरोधमा उनले बनाएको पछिल्लो भिडियोलाई दुई घण्टाभित्र तीन लाखपल्ट हेरिसकिएको छ । उनको रिभ्यु भिडियो हेर्ने दर्शक नेपालमा पनि थुप्रै छन् ।