काठमाडौं । प्रदेश एक पुनः नामाकरण समितिले आन्दोलनको कार्यक्रमलाई थप फैलाउने निर्णय गरेको छ । कोशीको राजधानी विराटनगरमा दुई दिनसम्म चलेको बैठकले आन्दोलनको कार्यक्रमलाई विभिन्न तहमा विभाजित गरेर फैलाउने निर्णय गरेको हो ।
बैठकमा आन्दोलनरत सङ्घर्ष समितिको सदस्य घटक सङ्गठनहरू र प्रदेश १ मा रहेका जिल्ला सङ्घर्ष समितिको अध्यक्ष, सचिवहरूको सहभागिता रहेको थियो । बैठकमा हालसम्म आन्दोलनको क्रममा भएको विषयहरूलाई प्रतिवेदन समेत बनाएर पेस गरिएको थियो ।
नन्द कन्दङ्वा, डा. कृष्ण भट्टचन, कुमार फुदुङ, खगेन्द्र माखिमले आन्दोलनको दीर्घकालीन र अल्पकालीन योजना बारेको प्रतिवेदन पेस गरेका थिए । ‘पहिचानका लागि युवा’ संयोजक भीम राईले सो सङ्गठनको संगठनिक संरचना र योजना तथा अमर तुम्याहाङले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमा शक्ति आर्जन, प्रतिरोध, हस्तक्षेप, विद्रोहात्मक, स्वायत्तता र स्वशासनको चरणको आन्दोलन गर्ने उल्लेख गरिएको छ । आन्दोलनको तत्कालीन रूपमा कोशी खारेजी र दीर्घकालीन रूपमा स्वायत्त र स्वशासित हुने र शान्तिपूर्ण प्रतिरोध दुवै प्रकारको आन्दोलन हुने उल्लेख छ ।
आगामी कार्यक्रमहरूसमेत बैठकले पारित गरेको छ । जसमा कोशी नामको पक्षमा हस्ताक्षर दिने ८२ सांसद, प्रदेश मुख्यमन्त्री, मन्त्रीहरू, आन्दोलनरत शक्तिलाई आतङ्ककारी घोषणा गर्ने समेत छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई गाउँ गाउँमा कालो झण्डा देखाउने अर्को निर्णय समेत गरिएको छ ।