• जेष्ठ २७ २०८२, सोमबार

युद्द रोक्न आग्रह गर्न रुस र युक्रेन पुगेका अफ्रिकी नेताहरुले भने,‘युद्द नरोके भोकले मरिन्छ’

असार ३ २०८०, आईतवार

काठमाडौं । रुस–युक्रेन युद्धले नराम्ररी प्रभावित पारेपछि अफ्रिकी राष्ट्रका नेताहरूले युद्ध अन्त्य गर्न दुवै देशलाई आग्रह गरेका छन् ।

युद्धका कारण युक्रेनबाट हुने अन्नको निर्यातमा नराम्रो असर परेको छ भने रुसबाट पनि मल निकासी हुन सकेको छैन । यसबाट सबैभन्दा बढी अफ्रिकी देशहरू प्रभावित बनेका छन् । त्यसैले उनीहरू छिटोभन्दा छिटो युद्ध अन्त्य होस् भन्ने चाहन्छन् ।

यसै क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न दक्षिण अफ्रिका, इजिप्ट, कोमोरोस, सेनेगल, जाम्बिया, युगान्डा र कंगो गणतन्त्रका नेताहरू सेन्ट पिटर्सबर्ग पुगेका थिए । पुटिनसँगको भेटमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले युद्ध कुनै पनि हालतमा रोकिनुपर्ने बताए ।

रामाफोसाले दुवै देशलाई एकअर्काका युद्धबन्दी रिहा गर्न र युक्रेनको क्षेत्रबाट रुसले ल्याएका बालबालिकालाई स्वदेश फिर्ता गर्न आग्रह गरेका थिए । पुटिनले भने रामाफोसालाई रोक्दै रुसले ती बालबालिकाको सुरक्षा गरिरहेको बताएका थिए ।

अफ्रिकी नेताहरूको उद्देश्य युद्ध रोक्ने र दुई देशबीच सन्धि गराउने थियो । शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तामा पनि उनीहरूले युद्ध रोक्न आग्रह गरेका थिए । रुसले भेटका क्रममा युक्रेनसँग वार्ताका लागि तयार भएको बताइँरहदा युक्रेनले भने रुसी सेना युक्रेनको क्षेत्राधिकारबाट बाहिर नहट्दासम्म वार्ता हुन नसक्ने बताएको छ । जब रुसले युक्रेनको भूमि फिर्ता गरेपछि मात्रै यो युद्ध समाप्त हुने जेलेन्स्कीको भनाइ छ ।

वार्ता गर्न सहमत भएको बताइरहँदा पनि रुसले आक्रमण रोकेको छैन । अफ्रिकी नेताहरू युक्रेन हुँदा पनि रुसले राजधानी किभमा धेरै आक्रमण गरेको थियो । यसबाट नै रुसले शान्ति होइन, युद्ध चाहेको प्रमाण भएको युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेभाले बताएका थिए ।