• जेष्ठ २७ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणः फरार अभियुक्तका नाममा म्याद जारी गर्दै अदालत

असार ३ २०८०, आईतवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा प्रतिवादी बनाइए पनि फरार रहेका व्यक्तिका नाममा म्याद जारी हुने भएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणको मुद्दाका फरार अभियुक्तलाई अदालतमा हाजिर हुन भन्दै म्याद जारी गर्ने तयारी गरेको हो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। जसमध्येका १२ जना अझै फरार छन्। फरार हुनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापा, पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईसहित छन्।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार शुक्रबार नै इजलासले उनीहरुको नाममा म्याद जारी गर्ने आदेश गरेको थियो। आइतबारदेखि म्याद पठाउने काम सुरु भएको उनले बताए।

अदालतले पठाएको म्याद बुझेमा उनीहरु आफैं अदालत उपस्थित भएर थुनछेक बहस हुनेछ। तोकिएको समयमा म्याद नबुझ्ने वा आउन अस्वीकार गरेमा पक्राउ गरेर अदालत पेस गरिने दाहालले बताए। प्रतिवादीहरुले म्याद बुझ्न नचाहेमा अदालतले वडा कार्यालयको रोहवरमा प्रतिवादीको ठेगानामा सूचना टाँस गरि मुचुल्का उठाउँदै म्याद तामेली भएको मान्ने छ। यसरी म्याद तामेल भएपछि उपस्थित नभएकाको हकमा अदालतले पत्रिकामा समेत सूचना जारी गर्ने छ। उक्त सुचनाको म्यादभित्र पनि अदालत उपस्थित नभएमा एक पक्ष रुपमा मुद्दा अघि बढ्दै फैसला हुने छ।