• मंसिर ७ २०८१, शुक्रबार

सार्वजनिक जग्गा अतिक्रमणबारे रावल आयोगको प्रतिवेदन सरकारले किन गरेन कार्यान्वयन ?

असार ३ २०८०, आईतवार

काठमाडौं । तत्कालीन श्री ५ को सरकारले २०४९ सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय-रावल आयोग गठन गरेको थियो । सो आयोगले तीन वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदन २०५२ कार्यान्वयन नआउँदा काठमाडौं महानगरभित्रको १ हजार ८ सय ५९ रोपनी सरकारी जग्गा सरकारको नाममा आउन सकेको छैन ।

१६ पुस ०४९ मा सरकारले गठन गरेको पूर्वसचिव रामबहादुर रावल संयोजकत्वको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ले तीन वर्ष लगाएर अतिक्रमित जग्गाको लगत संकलन गरेको थियो । आयोगले जग्गा फिर्ता ल्याउन सुझाबसहित ०५२ मा प्रतिवेदन बुझाए पनि सरकार गुपचुप बसेको छ । ०६२/०६३ को जनआन्दोलनपछि देश लोकतान्त्रिक गणतन्त्र भइसकेको छ भने तत्कालीन राजाको शासनकालमा बनेको आयोगले बुझाएको प्रतिवेदन लोकतान्त्रिक गणतन्त्रात्मक शासनकालसम्म आउँदा कार्यान्वयनमा सरकारले चासो देखाएको छैन ।

प्रतिवेदन अनुसार काठमाडौं उपत्यकामा विशेषगरी चाबहिल, बौद्ध, बत्तीसपुतली, थापाथली, बानेश्वर, कोटेश्वर, हाँडीगाउँ, बूढानीलकण्ठ क्षेत्रमा जग्गा मिचिएको छ । पोखरी, मन्दिर, खोला, कुवा, ढुङ्गेधारा, गुठीको जग्गा र घर, सार्वजनिक पेटी, बाटो धेरै मिचिएको छ । साथै रावल आयोगको प्रतिवेदन अनुसार हदबन्दी भन्दा धेरै देशभर ९० हजार रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट हामीले प्राप्त गरेको प्रतिवेदन अनुसार धेरै ठाउँमा जग्गा मिचिए पनि सरकारको स्वामित्वमा आउन सकेको छैन ।

त्यसो त सो प्रतिवेदनमा सिंहदरबारकै जग्गा अतिक्रमण भएको उल्लेख छ । सडक निर्माण गर्दा आफ्नो जग्गा जाने भएपछि पहुँचवालाहरुले पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । ०४७ मा सिंहदरबार गुरुयोजना अन्तर्गत सडक निर्माण योजना बन्यो । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपर्नेमा उल्टै सिंहदरबारको जग्गालाई केन्द्रित बनाइयो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएपछि उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाए ।

स्वयम्भूको सरकारी जग्गामा व्यक्तिको नाममा

साबिकको गाविस स्वयम्भू वडा नं. ४ को कित्ता नं.७२६ मा २५२ रोपनी ४ आना सरकारी जग्गा अतिक्रमण गरी घ्याङ, घर, करेसाबारी, कम्पाउन्ड, पानीट्यांकी बनाइएको छ । स्वयम्भू–१ डल्लुमा कित्ता नं. १ मा २ रोपनी १० आना जग्गा रहेकामा कान्छी, भाइकाजी र सिद्धिमान महर्जनले ३ वटा पक्की घर बनाएका छन् । त्यस्तै, कित्ता नं. ८ को ४ रोपनी ८ आना जग्गामा प्रहरीचौकी छ र केही जग्गा व्यक्तिले अतिक्रमण गरेका छन् । कित्ता नं. २८ को ११ आना सरकारी जग्गा कित्ता नं. १८७ को हकवालाले आफ्नो नाममा घुसाएको छ । त्यस्तै, स्वयम्भू–२ को कित्ता नं. ९६ को १ रोपनी १३ आना सरकारी जग्गा ठूले लामा र रामबहादुर घलेसहित विभिन्न व्यक्तिले अतिक्रमण गरेका छन् । स्वयम्भू–३ ख कित्ता नं. १ को १ रोपनी ८ आना सरकारी जग्गामा दोर्जे लामा र चुन्दरी लामाले पक्की घर बनाएका छन् । स्वयम्भू ७ कित्ता नं. १८ को ११ रोपनी७ आना सरकारी जग्गामा २ वटा पक्की घर बनाइएको छ ।

बौद्धमा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराए

साबिक बौद्ध गाविस वडा नं. ७ घ कित्ता नं. ५६ को सात रोपनी १३ आनामध्ये सात रोपनी १० आना, कित्ता नं. ५८ को नौ रोपनी सात आनामध्ये दुई रोपनी १५ आना, कित्ता नं. २१ को सात रोपनी सात आनामध्ये तीन रोपनी तीन आना र कित्ता नं. १७२ को १५ रोपनी १० आनामध्ये तीन रोपनी १० आना जग्गा मिचेर विभिन्न व्यक्तिले घर बनाएका छन् । साबिक बौद्ध गाविसकै वडा नं. ४ क कित्ता नं. १२५ को एक रोपनी तीन आना सार्वजनिक जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा नापी गराएका छन् । कित्ता नं. १२४ को बागमती नदीकिनारको जग्गा पनि मिचिएको छ । बौद्ध गाविसकै वडा नं. ७ ङ कित्ता नं. ९ र १० को चार रोपनी दुई आना एक पैसा क्षेत्रफलको सार्वजनिक जग्गा व्यक्तिको नाममा नक्सा बनेको छ ।

कमलपोखरी नै मिचेर व्यक्तिले बनाए घर

कमलपोखरी मिचिएको विवरण प्रतिवेदनमा उल्लेख छ । जस अनुसार, मालपोत कार्यालय काठमाडौंका अनुसार कित्ता नं. ४०४१ को १५ आना १ पैसा ३ दाम पदमकुमारी गुरुङ्ग र कित्ता नं. ४०४ को २ रोपनी १० आना १ पैसा १ दाम जग्गा मणिरत्न गुरुङ्गको नाममा देखियो । जुन कमलपोखरी भएको जग्गा हो ।

कित्ता नं. १३४० को ४ आना सीता तामाङको नाममा र कित्ता नं. १८५१ को जग्गा कृष्णमाया भन्ने व्यक्तिको नाममा दर्ता छ । साे पनि कमलपोखरीको जग्गा हो । त्यस्तै कमलपोखरीकै कित्ता नम्बर १८५० र ३६८ मा १२ आना जग्गा मिचिएको देखिएको, तर मिच्ने व्यक्तिको नाम थाहा नभएको प्रतिवेदनमा उल्लेख छ । नागपोखरी मिचिएको विषयमा पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार, नागपोखरीमा पर्ने कित्ता नम्बर ४५२ को १० आना १ पैसा जग्गा श्यामकुमार गिरी र श्याम श्रेष्ठ भन्ने व्यक्तिका नाममा कायम भएको छ ।

सेतो दरबारको मूलढोका पनि अतिक्रमणमा परेको छ भन्छ प्रतिवेदन । जस अनुसार, कित्ता नं. ७६२ को २ पैसा २ दाम जग्गा देवेन्द्रशमशेर जबराले र कित्ता नं. १०२ को १ आना ३ दाम भिक्षुरत्न शाक्यले आफ्नो नाममा दर्ता गरेको देखिन्छ ।

पाँच तारे होटलले मिच्यो ७ आना जग्गा

जग्गा अतिक्रमण गर्नेमा सांग्रिला होटलको नाम पनि उल्लेख छ । प्रतिवेदन अनुसार, कित्ता नं. १४४ को १ रोपनी १४ आना १ पैसा जग्गा यतिखेर बाटोमा परिणत भएको छ । सांग्रिला होटलले कम्पाउण्ड लगाएर यहीमध्ये ७ आना जग्गा मिचेको छ ।

होटल काठमाडौंले पनि ८ आना जग्गा मिचेको प्रतिवेदनमा देखिन्छ । कित्ता नं. १ को ३ रोपनी ९ आना सार्वजनिक जग्गामा होटल काठमाडौंले ८ आना जग्गा मिचेर होटल संचालन गरेको र बाँकी जग्गामा कान्ति संस्कृति केन्द्र महाराजगंजले भवन निर्माण गरी भाडामा दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सो कम्पनीले ११ रोपनी १३ आना जग्गा मिचेको छ ।

देवस्थल पनि छाडिएन

स्वयम्भू, डल्लुको देवस्थल पनि मिचिएको छ । प्रतिवेदन अनुसार, त्यहाँको कित्ता नं. १ को चौरमा कान्छी, भाइकाजी र सिद्धिमान महर्जनले ५ आना १ पैसा १ दाम जग्गामा तीन वटा पक्की घर बनाएको र अर्को ३ आना जग्गामा टहरा बनाएर भाडामा लगाएको देखिन्छ । सँगैको सार्वजनिक जग्गामध्ये १ रोपनी ८ आनामा दोर्जे लामा र चुन्दरी लामाले पक्की घर बनाएको प्रतिवेदनमा उल्लेख छ । यहाँको कित्ता नं. ७२६ को २५२ रोपनी ४ आना जग्गामा कसैले घ्याङ, कसैले घर, कसैले कम्पाउण्ड, कसैले करेसाबारी, कसैले पानी ट्याङ्की बनाएर अतिक्रमण गरेको देखिन्छ । स्वयम्भूको कित्ता नं.१८ को ११ रोपनी ७ आना जग्गामा दुई वटा पक्की घर बनाएर भोगचलन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।