काठमाडौं । सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ ।
सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।
भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।्
भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए । बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिनुभएको सांसद खड्काले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्कीर विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए ।