• जेष्ठ २७ २०८२, सोमबार

भारतमा पनि बढ्यो अत्यधिक गर्मी, ३४ को मृत्यु

असार २ २०८०, शनिबार

काठमाडौं । भारतको उत्तर प्रदेशमा अत्यधिक गर्मीको कारण विगत दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । गर्मीका कारण मानिसको ज्यान जान थालेपछि डाक्टरहरूले ६० वर्षमाथिका व्यक्तिलाई दिउँसोको समयमा घरभित्रै बस्न सल्लाह दिएका छन् ।

मृतक सबै ६० वर्षभन्दा माथिका र पहिले नै अन्य स्वास्थ्य समस्या रहेका व्यक्ति भएको बताइएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको बलिया जिल्लामा मृत्युको घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बलियाका जिल्लाका प्रमुख मेडिकल अफिसर जयन्त कुमारले बिहीबार २३ जनाको मृत्यु भएको र शुक्रबार अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएको पोस्टले लेखेको छ ।

उनले भने, ‘सबै व्यक्तिहरू केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरूको अवस्था बिग्रियो ।’

अधिकांशको मृत्यु हृदयघात, ब्रेन स्ट्रोक र झाडापखालाका कारण भएको उनको भनाइ छ । अर्का मेडिकल अफिसर दिवाकर सिंहले ती व्यक्तिहरूलाई गम्भीर अवस्थामा बलियाको मुख्य अस्पतालमा भर्ना गरिएको बताएका छन् । भारतीय मौसम विभागको तथ्याङ्कले बलियामा शुक्रबार अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस रहेको जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले राज्यमा बिजुली आपूर्ति सुनिश्चित गर्न सबै काम गरिरहेको बताएका छन् । उनले सरकारलाई सहयोग गर्न र विद्युतको प्रयोग उचित तरिकाले गर्न आग्रह गरेका छन् ।