काठमाडौँ । अमेरिका र चीन बीचको सम्बन्ध पछिल्लो केही दशकयताकै चिसो क्षणमा पुगे पनि त्यसले सिलिकन भ्यालीका ठूला कम्पनीका सीईओहरूलाई एकपछि अर्को गर्दै बेइजिङ पुग्नबाट रोकेको छैन । यसै क्रममा शुक्रबार चीनको राजधानी पुगेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले राष्ट्रपति सी चिन फिङसँग भेटघाट गरेका थिए ।
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन आफ्नो दुईदिने चीन भ्रमणका लागि बेइजिङ पुग्न लागेको दुई दिनअघि गेट्सले सन् २०१५ पछि पहिलोपटक चीनियाँ राष्ट्रपतिलाई भेटेका हुन् । चिनियाँ सरकारी मिडियाका अनुसार भेटमा सीले गेट्स यो वर्ष आफूले भेटेको ‘पहिलो अमेरिकी मित्र भएको’ बताएका थिए ।
‘म बारम्बार भन्ने गर्छु चीन-अमेरिका सम्बन्धको आधार भनेको दुई देशबीचको जनस्तरको मित्रता हो,’ सीले गेट्ससँग भनेका थिए, ’मलाई आशा छ यो मित्रता कायम रहनेछ ।’ गत फेब्रुअरीमा हुने भनिएको अमेरिकी विदेशमन्त्रीको भ्रमण अमेरिकाको आकाशमा देखिएका चिनियाँ बेलुन लडाकु विमान लगाएर खसाल्नु परेपछि अमेरिकी पक्षले रद्ध गरेको थियो ।
अमेरिका चीनबीच बढ्दो व्यापारिक र राजनीतिक तनावका बीच ब्लिंकेन यो सप्ताहान्त बेइजिङ पुग्ने तय भएको छ । गेट्सले सीसँग भेट्नुअघि सिंघुआ विश्वविद्यालयको विभिन्न औषधिको शोध सम्बन्धि एक कार्यक्रममा सहभागी भएर उक्त संस्थाको कामको प्रशंसा गरेका थिए । साथै उनले आगामी ५ वर्षमा सो विश्वविद्यालयलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत् ५ करोड डलर अनुदान प्रदान गर्ने घोषणा समेत गरे ।
गेट्स कार्यकारी रूपमा माइक्रोसफ्टमा नरहे पनि १३ करोड सेयरसहित उनी कम्पनीको सबैभन्दा ठूला व्यक्तिगत शेयर धनी हुन् । माइक्रोसफ्टको आम्दानीको ठूलो हिस्सा चीनबाट आउँछ । सन् २०२२ मा यो कम्पनी चीनको दोस्रो ठूलो सफ्टवेयर विक्रेता बनेको थियो । गेट्स यो वर्ष चीनको भ्रमण गर्ने पहिलो अमेरिकी व्यवसायी भने होइनन् ।
सन् २०२० यताको लगभग तीन वर्ष चीनले जिरो-कोभिड नीतिका रूपमा भ्रमणमा कडा प्रतिबन्ध लगाएपछि रोकिएको व्यवसायीहरूको भ्रमण यही वर्षको जनवरीमा सो प्रतिबन्ध अन्त्य हुनेबित्तिकै सुरू भएको थियो । त्यसयता माइक्रोसफ्टका प्रमुख सत्य नाडेलाले जनवरीमा, अमेजनका प्रमुख जेफ बेजोजले फेब्रुअरीमा, गुगलका प्रमुख सुन्दर पिचाईले मार्चमा, एप्पलका प्रमुख टिम कुकले अप्रिलमा, जेपी मोर्गनका प्रमुख जेमी डिमन र मेटाका संस्थापक मार्क जुकर बर्गले मेमा र टेस्ला प्रमुख इलन मस्कले यही महिनाको सुरूमा चीनका विभिन्न सहरको भ्रमण गरिसकेका छन् ।
यीसँगै गुगलका एरिक स्मिड्ट, अल्फाबेटका रुथ पोरट, ओराकलका साफ्रा क्याट्ज र मार्क हर्ड लगायत एनभिडियाका जेन्सेन हुआङ पनि चीनको भ्रमणमा गइसकेका छन् ।
कोभिड-१९ ले शिथिल भएको आफ्नो अर्थतन्त्र र घट्दै गएको अन्तर्राष्ट्रिय लगानी बढाउन चीनले विभिन्न प्रयासहरू गरिरहेको छ । यस क्रममा उसले विभिन्न अन्तर्राष्ट्रिय व्यापारिक सम्मेलनहरू आयोजना गर्ने, वैदेशिक लगानीमा रहेको सीमा कम गर्ने र विभिन्न बहुराष्ट्रिय कम्पनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू ल्याउने प्रयास गरिरहेको छ । यस्तै विभिन्न ठूला कम्पनीहरू पनि कोभिड-१९ का कारण खलबलिएको आपूर्ती संयन्त्र र चीनमा आफ्नो व्यवसायलाई पुनः पहिलेकै अवस्थामा ल्याउने प्रयासहरू गरिरहेका छन् ।
गएको ४ वर्षमा चीन सरकारले आफ्नो देशका ठूला ई-कमर्सलगायत प्रविधि कम्पनीहरूलाई थप नियन्त्रण गर्दै लगेपछि सशंकित अन्तर्राष्ट्रिय व्यावसायिक समुदायलाई आश्वस्त गराउने चीनको प्रयासको रूपमा पनि यी नियमित आतिथ्य र सत्कारलाई हेरिएको छ ।