• जेष्ठ २७ २०८२, सोमबार

अमेरिका पठाइदिन्छु भनि डेढ करोड बढी ठग्ने काठमाडौंकी निर्मला र बाराकी अल्पा पक्राउ

असार २ २०८०, शनिबार

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका १ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।

अमेरिका बस्दै आएका प्रतिवादीमध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरी अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र एक अन्तर्राष्ट्रिय कम्पनीमार्फत् भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजारदेखि ३ हजार डलरसम्मको जागिर लगाईदिन्छु भन्दै नेपालमा रहेका निर्मला महर्जन, अल्पा ढकालसमेतमार्फत् विश्वास दिलाई झुक्यानमा पारी ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।