• मंसिर १३ २०८१, बिहीबार

मंकीपक्सबाट बच्ने उपाय

असार २ २०८०, शनिबार

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

पहिलो पटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ। मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो।

मंकीपक्सका लक्षणहरू दादुरासँग मिल्ने खालका छन्। यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, मांशपेशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकान लाग्ने लक्षण देखिन्छन्।

विश्वभर देखिइरहेको संक्रमण कम गर्न संक्रमितहरूलाई दादुराकै खोप लगाइएको छ। यो खोपले मंकीपक्स रोक्न ८५ प्रतिशतसम्म सफल भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ :

मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ । जो व्यक्ति संक्रमित व्यक्तिको निकट सम्पर्कमा हुन्छन्, उनीहरूमा यो भाइरस फैलिने जोखिम धेरै हुन्छ। यो काटिएको ठाउँदेखि स्वासप्रश्वासको माध्यमबाट अथवा आँखा, नाक वा मुखबाट पनि व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ।

संक्रमितको दाग वा घाउलाई नछुने ।

संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।

मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।

संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।

संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।

साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने (विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि) ।

मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।