• जेष्ठ २७ २०८२, सोमबार

राजनीतिक नेतृत्वका कारणले नेपाल भू-राजनीतिको भूमरीमा फस्दैछ : शेखर कोइराला

असार १ २०८०, शुक्रबार

कांग्रेसक नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले अहिले कांग्रेस चुक्दै गएको टिप्पणी गरे । पार्टीले सिद्धान्त छाड्दै जानु चिन्ताको विषय भएको उनको भनाइ छ ।

‘कांग्रेसको विगतको जुन चरित्र थियो । त्यो चरित्रमा कता-कता अलमलिएको हो कि भन्ने मलाई लाग्छ,’ उनले भने, ‘नेपाली कांग्रेस व्यवहारवादी भएर चुक्दै गएका छौँ । सिद्धान्तहरूलाई छोड्दै जान्छौँ । यो कुरा नेपाली कांग्रेसको लागि चिन्ताको विषय बनेको छ ।’

कोइरालाले देश भूराजनीतिक भूमरीमा फस्दै गएको टिप्पणी गरे । ‘हामीहरू भू-राजनीतिक (जीओपोलटिक्स) को भूमरीमा फस्दैछौँ । मुलुक राजनीतिक पार्टीहरूका नेतृत्वको कारणबाट नै भू-राजनीतिको भुमरीमा फस्दैछौँ,’ कोइरालाले भने, ‘यो किन भइरहेको छ भने विश्व अहिले परिवर्तन भइरहेको छ । बीपी, गणेशमानको पालाको जस्तो अहिले अवस्था छैन । अहिले लोकप्रियतावादी बन्ने होड चलेको छ ।’

कसैले पनि लोकरीझ्याइँको राजनीति गरेर चर्चा कमाउनुको अर्थ नरहने उनको भनाइ छ । पार्टी विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको उनको टिप्पणी छ ।

अहिले कुनै पनि संवैधानिक संस्थाहरू सबल बन्न नसकेको जिकिर गर्दै कोइरालाले संसदको अवस्था पनि चिन्ताजनक रहेको बताए । संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोलेलगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादाविपरीत भएको उनको भनाइ छ ।

‘अहिले कुनै पनि संवैधानिक संस्थाहरू सबल छैनन्, संसद नै हेर्नुस् । संसद हो कि होइन भन्ने लाग्न थालेको छ । संसदमा दोहोरी हुन्छ । संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिन्छ,’ कोइरालाले भने, ‘तर, प्रमुख प्रतिपक्ष दलको नेताले म बोल्छु भन्नुहुन्छ । त्यो संसदीय मर्यादाविपरीत हो । तर, हामी कतै बोल्दैनौँ र लेख्दैनौँ पनि अनि कसरी लोकतन्त्र फस्टाउँछ ?’

सरकारले सुशासन कायम गर्न नसकेको कोइरालाको भनाइ छ । अदालतका निणर्यहरू सरकारले नमान्ने जस्ता दण्डहीनताका कामहरू गरिरहेको उनको भनाइ छ ।