काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो । यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई अभियुक्त बनाई विभिन्न चार कसुरमा मुद्दा दर्ता गरेको थियो । तीमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक राईलाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । महर्जनसँग ५ लाख र राईसँग १० लाख धरौटी माग भएको छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका पीए नरेन्द्र केसी, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमसेर मिया, गिरोहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरीलगायत १६ जना थुनामा बस्ने भएका हुन् ।
उनीहरू सबैलाई सेन्टर जेल सुनधारामा राखिने भएको छ । यो प्रकरणका फरार १२ जना अभियुक्तमध्ये एक इन्द्रजित राईका छोरा र अर्का बादलका छोरा हुन् ।