• आश्विन ५ २०८१, शनिबार

मगर समुदायको मौलिक भूम्या पर्व

असार १ २०८०, शुक्रबार

आज प्रकृतिको पुजा गरेर भूम्या पर्व मनाउने दिन हो । विशेष गरी आदिवासी जनजाति मगर समुदायले आजकै दिन भूमिको पुजाआजा गरेर प्रकृतिलाई सम्झने गर्दछन् । आजको दिन पूर्वदेखि पश्चिमका आदिवासी जनजातिहरुले भूमिलाई पुज्ने गरेतापनि भूम्या पर्वको अवसरमा रोल्पा र रुकुमका खाम मगर समुदायले भूमिको पुजा गरी नाचेर उत्सवका साथ यो पर्वलाई मनाउने चलन छ ।

भूम्या पर्व मगर समुदायको मौलिक चाड हो । मगर समुदायले प्रत्येक वर्ष असारको १ गतेदेखि ५ र ७ गते हप्तौंसम्म यो पर्वलाई उत्सवको रुपमा मनाउँदै आएको पाईन्छ । आदिवासी जनजाति मगरहरुले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दै गर्दा बितेका क्षणहरुको समिक्षा गर्ने र आउने नयाँ वर्षको योजना गर्ने चलन पनि छ ।

विशेष गरी आदिवासी जनजातिको जीवन र जगत नै प्रकृतिसँग जोडिएको आइएलओको दस्तावेजमा मात्र होइन समग्र मानव जातिलाई थाहा भएको कुरो हो । त्यसकारण पनि यी समुदायले आदिमकालदेखि नै प्रकृतिलाई पुजा गर्दै आएको जनविश्वास छ । आजको दिन भूमिको पूजा गरी मिठा मिठा खाने कुरा खाने चलन पनि छ । दाजुभाईहरुले आफ्ना चेलीहरुलाई टिका लगाई मिठा मिठा खाने कुरा खान दिने मात्र नभई दुःखसुखको कुरा गर्ने दिन पनि हो ।

मगर समुदाय भित्र अन्य थुप्रै चाडपर्वहरु छन् । त्यसमध्ये पनि भूम्या पर्वलाई विशेष चाडको रुपमा मनाउने गर्दछ । यो पर्व मनाउनुको प्रमुख कारण प्राकृतिक प्रकोपहरु आइनपरोस्, रोग नलागोस, आफूले उब्जाएको अन्नबाली राम्रोसँग फस्टाउन सकोस् र सबैतिर सुखशान्ति होस् भनेर आफूले बसोबास गर्दै आएको भूमिको पुजा गर्ने चलन छ ।

आदिमकालदेखि नै आदिवासी जनजाति मगर समुदायका पुर्खाले सबै मानवजातिको रक्षा होस भनेर प्रकृतिको पुजा गर्दै भूम्या पर्व मनाउँदै आएका मगर समुदायका जानकारहरु बताउँछन् । अनि उनीहरुको सन्ततीले यस पर्वलाई वर्षैपिच्चे धुमधामसँग मनाउँदै आएको पाइन्छ ।

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक पहिचान र अस्तित्व बोकेको सुन्दर शान्त र प्रकृतिमय देश हो । जहाँ सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिहरुको आफ्नै पहिचान र अस्त्तिव छ अनि तराई, पहाड र हिमालको आफ्नै मौलिकपन र चिनारी छ ।

पुर्खाले छाडेर गएका मौलिक चाडलाई सम्बद्र्धन र संरक्षण गर्दै भूम्या पर्वलाई चिनाउने काम मगर समुदायका सन्ततीले गर्दै आएको पाइन्छ । समग्र मगर समुदायको माउ संगठन मगर संघले पनि वर्षैपिच्चै विविध कार्यक्रम गरि मनाउने गर्दछ ।

विगतका केही वर्षहरुमा विश्वब्यापी फैलिएको कोरोनाका कारण आदिवासी जानजाति मगरहरुले भूम्या पर्वलाई सहज तरिकाले मनाउन पाएनन् तर यस वर्ष भने भब्य रुपमा मगरहरुले भूम्या पर्व मनाए । यो उत्साहपूर्ण कार्यले पक्कै पनि पुर्खाले छाडेर गएका संस्कृति र चाडपर्वको पहिचान र अस्त्तिव छ भन्ने सन्देश पनि दिएको छ ।

इतिहासको कालखण्डमा शासकवर्गले राज्यदेखि पछि पारिएका जातजातिका भाषा, धर्म, संस्कृति र पहिचानलाई नामेट पार्ने प्रयास त गरे तर पुरै नामेट पार्न भने सकेन । किन कि त्यो हाम्रो पुर्खाको पहिचान र अस्त्तिव थियो । जसले गर्दा विगतको त्यो समयमा हाम्रा पुर्खाहरुले शासकवर्गको डरत्रासमा बाच्न परेपनि आफ्नो मौलिकपनलाई मर्न दिएनन् ।

समय परिवर्तन सँगै देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि आज सबै जातजातिहरुले आफ्नो पहिचान र अस्त्तिवमा बाँच्न पाएका छन् । आफ्ना चाडपर्वहरु मनाएर खुशी हुन पाएका छन् । लामो समयको अन्तरालपछि हामीले हाम्रो पहिचान र अस्तित्वलाई आत्मासात गर्न पाएका छौं ।

त्यसैले अब मगर समुदायका नयाँ पुस्ताहरुले आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई बचाउन सक्रिय भएर लाग्नुपर्छ । जबसम्म हामी आफै आफ्नो पहिचान र अस्त्तिवकोलागि सचेत र जागरुप हुदैनौ तबसम्म अरुले देला र खाउला भन्ने दिवा सपना देख्नु मुर्खता हुनेछ ।

त्यसकारण देशविदेशमा बसोबास गर्ने आम मगर समुदायहरु तथा गैरमगर समुदायहरु आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण र सम्बद्धन गर्नकोलागि एकताबद्ध हुन जरुरी छ । साथै विविधता भित्र एकताको सुन्दर मालामा गाँसिएर यो देशलाई सुन्दर, शान्त र समृद्धि बनाउन हामी सबै नेपालीहरु एक अर्काको भावनालाई आदारसम्मान गर्दै सबैको मौलिक तथा राष्ट्रिय चाडपर्वलाई जेर्गर्ना गर्न सक्यौ भने भोलिका दिनमा संस्कृतिको धनि देश भनेर विश्वमा चिनिने सुनौलो अवसर पाउने छौं ।

अब आउने दिनहरुमा हामी नेपालीहरुले आफ्नो देशलाई विभिन्न कलात्मक संस्कृतिहरुले विश्वमा चिनाउनकोलागि एकताबद्ध भएर अघि बढ्न आवश्यक छ । जब घर कलात्मक हुन्छ तब समाज कलात्मक हुन्छ अनि देश कलात्मक बन्दै विश्व नै एउटा सुन्दरकलामय संसार बन्ने छ । मानव जातिकालागि कला र संस्कृति विनाको संसार कल्पना समेत गर्न सकिदैन । यदि साँच्नै मानिसलाई सुखी खुशी बनाउने हो भने कला, संस्कृति र चाडपर्वलाई आत्मासाथ गर्नै पर्दछ ।

हरेक जातजाति र समुदायको भाषा, धर्म, संस्कृति चाडपर्व, परम्परालाई राज्यले उच्च सम्मान दिर्दै त्यसलाई संरक्षण र प्रर्वद्धन गर्न आवश्यक छ । अन्त्यमा असार १ गते मनाइने प्रकृति पुजा भूम्या पर्वको पावन अवसरमा सम्पूणर् नेपालीहरुको घरआँगनमा सुख, शान्ति र सवृद्धिले छावस् प्रकृतिका भगवान्ले सबैलाई सदा रक्षा गरि सुखी खुशी राख्न सकुन् भनेर शुभकामना व्यक्त गर्दछु ।